काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतका विदेशमन्त्री डा. सुब्रह्मण्यम जयशङ्कर आज नेपाल आउँदै छन् । यो उनको दोस्रो नेपाल भ्रमण हो । यसअघि उनी विदेशमन्त्रीमा नियुक्त भएलगत्तै सन् २०१९ मा नेपाल भ्रमणमा आएका थिए ।
उनी आज बिहान काठमाडौँ उत्रने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतका विदेशमन्त्रीको नेतृत्वमा दुई देशका उच्चस्तरीय प्रतिनिधिमण्डलसहित संयुक्त आयोगको बैठक आयोजना हुँदै छ । नेपाल भ्रमणको अवसरमा भारतका विदेशमन्त्री जयशङ्करले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गर्नेछन् ।
उनले परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग पनि छुट्टै द्विपक्षीय भेटवार्ता गर्दै दुई देशको परराष्ट्र सम्बन्ध र सरकारको धारणा आदानप्रदानबारे छलफल गर्नेछन् । सोही अवसरमा संयुक्त आयोगको बैठकमा गरिने कार्यसूचीबारे उनीहरूले आफ्ना धारणा आदानप्रदान गर्ने मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार संयुक्त आयोगको बैठकमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका विविध आयामका साथै विकास साझेदारीको समीक्षा गरिने छ । प्रधानमन्त्री प्रचण्डका परराष्ट्र मामिला सल्लाहकार रूपक सापकोटाका अनुसार यो बैठकमा दुई देशबिच विद्युत् व्यापार दुईदेशीय तथा बङ्गलादेशसँग हुने समझदारीका लागि त्रिदेशीय समझदारीमा महत्त्वपूर्ण सहमति हुने छ । उनका अनुसार नेपालले भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने दीर्घकालीन परियोजनामा सम्झौता हुने छ ।
संयुक्त आयोगको बैठकमा द्विपक्षीय र क्षेत्रीय सहकार्यका विषयमा सहमति र समीक्षा गरिए पनि नसक्ने र नहुने कुरामा नेपालले जोड दिन नहुने पूर्वराजदूत दिनेश भट्टराईले बताए। नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठक आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।
बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस.जयशंकर बिहान १० बजे काठमाडौं आइपुग्दैछन् । संयुक्त आयोगको बैठक सकेर भारतीय विदेशमन्त्री जयशंकर शुक्रबार दिल्ली फर्किने कार्यक्रम छ ।


