कान्तिपुरविरुद्ध रवि लामिछानेले हाले गाली बेइज्जति मुद्दा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सांसद रवि लामिछानेले कान्तिपुर पब्लिकेसन प्रालिविरुद्ध गाली बेइज्जतिको मुद्दा दायर गरेका छन्। लामिछानेले मंगलबार अधिवक्ता अफताब आलमलाई वारेस राखेर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन्।

लामिछानेले आफ्नो चरित्र हत्या गर्ने गरी समाचार लेखेको भन्दै उनले मुद्दा दायर गरेका हुन्। उनले कान्तिपुरले लेखेका समाचारमा आएका कुनै सहकारीको संचालक, सेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता केही पनि नभएको बताएका छन्।

‘मैले ती सहकारीहरूमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम गरेको छैन। मेरो नाम राखिए/देखिए लगायतका अन्य विषयमा समेत कानुनी परामर्शमा छु। म लोकतन्त्रको बलियो आधारमध्ये एक, प्रेस स्वतन्त्रताको पक्षमा जीवनभर लडिरहने छु। मुद्दा दर्तापछि लामिछानेले सामाजिक संजालमा लेखेका छन्‚ ‘सहकारी पीडितहरुको पीडामा सदनमा भएकामध्ये सबैभन्दा दरिलो उभिन सकिन भने यो अनुहार लिएर भोट माग्न आउँदिन। यो मेरो वचन भो।’

कान्तिपुर पब्लिकेसन, पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहिया, प्रबन्ध निर्देशक सम्भव सिरोहिया, कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहान, ई–कान्तिपुर डटकम र कान्तिपुर दैनिक पत्रिकालाई प्रतिवादी बनाइएको मुद्दामा १५१ रुपैयाँ क्षतिपूर्ति मागदाबी गरिएको छ।

प्रकाशित मिति : २०८० पुष १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस