काठमाडौ । शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले जटिल खालका विरामीको उपचार गराउन काठमाण्डौं जानु भएको छ । गएको पुष ५ गते शान्तिनगर – ४ जुम्लेकुलामा भएको निशुल्क वृहत स्वास्थ्य शिविरमा रिफर गरिएका जटिल खालका विरामी लिएर आफै काठमाण्डौं जानु भएको छ ।

शान्तिनगर गाउँपालिकाको आयोजना तथा काठमाण्डौं मेडिकल कलेज सिनामंगलको प्राविधिक सहयोगमा विशेषज्ञ डाक्टर सहितको एक दिने बृहत निशुल्क स्वास्थ्य शिविरमा १०१९ जनाले स्वास्थ्य लाभ लिएका थिए । शिविरमा ५५ जना जटिल खालका विरामीलाई रिफर गरिएको थियो । रिफर गरिएका विरामी लिएर अध्यक्ष बस्नेत आफै काठमाण्डौंको काठमाण्डौं मेडिकल कलेज सिनामंगल पुग्नु भएको छ ।

आज २८ जना विरामी उपचारका लागि काठमाण्डौं गएका छन् । उनिहरुको ल्याव टेस्ट, भिडियो एक्सरे, एम.आर.आई, सिटि स्क्यान लगायतको चेकजाँच निशुल्क, बेड चार्ज तथा अप्रेशन पनि निशुल्क हुने गाउँपालिका अध्यक्ष बस्नेतले बताउनुभयो । केहिको अप्रेशनको लागि भर्ना गरिएको र बाँकीको रिपोर्ट अनुसार निशुल्क उपचार हुनेछ । रिफर गरिएका आउन बाँकी रहेका विरामी पनि काठमाण्डौं आउने तयारी गरेको अध्यक्षले जानकारी दिनुभयो । रिफर गरिएका ५५ जना विरामी मध्ये पित्तथैत्री अप्रेशन, मासु पलाएको अप्रेशन, हर्नियाको अप्रेशन, मुटुको उपचार लगायत विविध समस्या रहेका छन् ।

निशुल्क उपचार गराउन पाउँदा विरामीहरु खुशी देखिएका थिए । शान्तिनगर गाउँपालिकाका जनताको खुशी नै आफ्नो खुशी रहेको अध्यक्ष बस्नेतले बताउनुभयो । जनताका हरेक दुख सुखमा आफूले साथ दिदै आएको र आगामी पनि साथ दिने उहाँले बताउनु भयो । सभ्य र सुन्दर सहित विकसित शान्तिनगर गाउँपालिका बनाउन आफू दिनरात लागेको बताउनुभयो ।
विकाससंगै जनताको हरेक काममा आफ्नो साथ र सहयोग हुने भएकाले विरामी लिएर स्वयम आफूनै काठमाण्डौं आएर व्यवस्थापन गरेको अध्यक्ष बस्नेतले बताउनुभयो ।
साथै शान्तिनगर पालिकाका भित्रका कुनै पनि बिरामिले काठमाण्डौं मेडिकल कलेजमा उपचार गर्दा २० प्रतिशत छुट समेत दिने जानकारी दिनु भयो ।


