दाङ । दाङको बंगलाचुली गाउँपालिकामा एक पुरुषको हत्या भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ६ अघरा निवासी शिवराज केसीको हत्या भएको हो ।
केसीलाई हत्या गरी बंगलाचुली गाउँपालिका वडा नम्बर ४ फाँटा र गँदारीको जङ्गलमा रहेको कोइला खानीको सुरुङभित्र शव लुकाइएको अवस्थामा फेला पारेको वडा अध्यक्ष डाँस बहादुर डाँगीले जानकारी दिए । मृतक शिवराज केसी यही पुस ८ गते घरदेखि बंगलाचुली जान्छु भनी हिँडेको र सोही दिन नै हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
केसीको हत्या गरेको आरोपमा प्रहरीले बंगलाचुली गाउँपालिका ४ गदारी निवासी ४३ वर्षीय शेरबहादुर कुँवर र उनकी श्रीमती दिपा कुँवरलाई भारतको नयाँ दिल्लीबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरीले कार्यालय दाङका एसपी रामबहादुर केसीले जानकारी दिए ।
उनीहरूलाई भारतीय प्रहरीले पक्राउ गरी नेपाल प्रहरीलाई बुझाइसकेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको केसीले जानकारी दिए ।


