कार्यतालिका बनाएर काम गर्न मातहतका निकायलाई सञ्चारमन्त्री शर्माको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कार्यतालिका बनाएर काम गर्न मातहतका निकायलाई निर्देशन दिएकी छिन् ।

आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम कार्यान्वयनको प्रगति समीक्षाका सम्बन्धमा छलफल गर्न आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री शर्माले कार्यतालिका बनाएर आफूले गरेको कामका सम्बन्धमा प्रत्येक महिना मन्त्रालयलाई जानकारी गराउन मातहतका निकायलाई निर्देशन दिइन् ।

मन्त्री शर्माले कार्यशैली र पद्धतिमा सुधार गर्दै नतिजामुखी काम गर्नु आजको आवश्यकता भएको भन्दै कुनै पनि बहाना बनाएर कामबाट उम्किन खोज्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिइन् ।

मन्त्री शर्माले मातहतका निकायको कार्यसम्पादनको अङ्क दिने व्यवस्था गर्नुपर्ने भन्दै लक्ष्य निर्धारण गर्दा कार्यान्वयन योग्य लक्ष्य निर्धारण गर्नुपर्नेमा जोड दिइन् । मन्त्री शर्माले अन्वेषण, नवप्रवर्तन र रोजगारी अभिवृद्धिमा सरकार केन्द्रित रहेको भन्दै यसका लागि सबैको सार्थक पहल आवश्यक पर्ने बताइन् ।

मन्त्रालयका सहसचिव बाबुराम भण्डारीले कम खर्चमा हुने कार्य र खर्च नहुने कार्यहरू वर्गीकरण गरी कार्यसम्पादनलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।

सहभागी सम्बद्ध निकायका प्रमुख तथा प्रतिनिधिहरूले आर्थिक मन्दी, कानुनी अड्चन, बजेटको अभाव लगायतका कारणले कतिपय लक्ष्यहरू प्राप्त गर्न नसकिएको बताए ।

प्रकाशित मिति : २०८० पुष १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस