पुरन्धारा झरना हुँदै मलै जाने सडकबीचमा पुल बनाउन डीपीआर

तुलसीपुर । दाङको बबई गाउँपालिका स्थित पुरन्धारा झरना हुँदै मलै जाने सडकबीचमा पर्ने बबई नदीमा पक्की पुल निर्माण हुने भएको छ । त्यसका लागि अहिले डीपीआर निर्माणको काम भइरहेको छ ।

लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले सोही सडकको डीपीआरका लागि १५ लाख बजेट बिनियोजन गरेका थिए । सोही बजेटबाट अहिले डीपीआरको काम भइरहेको छ । बबईका स्थानीय अगुवा यज्ञ बहादुर वलीका अनुसार सोही पुल निर्माणका लागि माटो टेष्टको काम भएको छ । सोही स्थानमा पुल निर्माण नहुँदा मलै तथा आसपासका बासिन्दालाई निकै समस्या हुने गरेको थियो । त्यसलाई मध्यनजर गरि सोही स्थानमा पुल निर्माण थालिएको अर्थमन्त्री मास्कीले बताए ।

सोही सडकमा पुल निर्माण भएपछि मलैसँगै सिमलकुना, जिलालगायतका बस्तिलाई आवतजावतमा निकै सहज हुने छ । साथै पुरन्धारा झरना हुँदै, मलै, सिमलकुना, जिला जोड्ने सडक स्तरोन्नतीका लागि मन्त्री मास्कीले एक करोड बजेट बिनियोजन गरेका छन् ।

सोही स्थान निकै विकट भएकाले त्यहाँको विकासका लागि आफूले निर्वाचनको बाचा अनुसार बजेट बिनियोजन गरको उनले बताए ।

प्रकाशित मिति : २०८० पुष ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस