ललित स्मृति कप टु : खुला पुरुष भलिबल सुरु

दाङ । दाङको तुलसीपुरमा बिहिवारदेखि ललित स्मृति कप टु ए साईट खुला पुरुष भलिबल प्रतियोगिता २०८० सुरु भएको छ । फेलोसिप ट्रेनिङ सेन्टर तुलसिपुरको आयोजनामा राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुर संचालित प्रतियोगिताको नेपाली काँग्रेस तुलसीपुर नगर सभापति तथा त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमालले उद्घाटन गरेका हुन् ।

२०७७ साल असार २८ गते मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका तत्कालीन फेलोसिप ट्रेनिङ सेन्टरका संचालक गङ्गादेव गाउँ पालिका वडा न ७ रोल्पा राक निवासी स्वर्गीय ललित बुढामगरको सम्झनामा प्रतियोगिताको आयोजना गरिएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि हमालले मानव सभ्यता जत्तिकै पुरानो खेलकुदको बिकास र बिस्तारमा राज्यको दृष्टि पुग्न नसकेको बताएका छन् ।

‘खेलकुद राष्ट्रको सान र पहिचान मात्र होइन मानव स्वास्थ्यको अभिन्न अंग हो भन्ने कुरा खेलकुदका नीति निर्माताले नबुझ्नु र खेलकुद क्षेत्रलाई हेर्ने र बुझ्ने दृष्टिकोण फराकिलो बनाउन नसक्नुले खेलकुदमा राज्यको दृष्टि पुग्न सकेन सहजै भन्न सकिन्छ ।’ उनले भने । ‘तीन दशक अगाडिको खेलकुदलाई समीक्षा गर्दा बर्तमान खेलकुदले खासै फड्को मार्नु सकेन अधिकांश खेल प्रशिक्षक सेवा निवृत्त भएर जाँदै गर्दा रिक्त ठाउँमा झण्डै दुई दशक देखि राज्यले पदपूर्ति गर्न सकेको छैन यो हामी सबैका लागि बिडम्बना हो ।’

साथै उनले अब स्थानीय स्तरबाट खेल बिकासको स्पष्ट खाका कोरेर निजीस्तरबाटै खेलकुदको बिकास लाग्न सबैमा आग्रह समेत गरे । फेलोसिप ट्रेनिङ सेन्टरका संचालक राजु एरीको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि तेक्वान्दोका अन्तर्राष्ट्रिय खेलाडी मोहन सुनार लगायतकाले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

सो अवसरमा नेपाली काँग्रेस जिल्ला सदस्य रमेश मल्ल, नेपाली काँग्रेस रोप्ला जिल्ला सदस्य अमृत बुढामगर, नेपाली काँग्रेस तुलसीपुर नगर कोषाध्यक्ष प्रीतम श्रेष्ठ, भलिबलका पुर्वखेलाडी केशव राज खत्री, स्वर्गीय ललित बुढाका दाजु तेज बहादुर बुढामगर लगायतको उपस्थिति रहेको थियो । भलिबलका राष्ट्रिय रेफ्री द्रोण प्रकाश चन्दको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।

यसैबीच प्रतियोगिताको आज सम्पन खेलमा एसटिएफ र एसभिसी बिजयी भएका छन । उद्घाटन खेलमा अखिल क्रान्तिकारी लाई २१–५ र २१–१० को सोझो सेटमा पराजित गर्दै एसटिएफले बिजयी सुरुवात गर्‍यो । त्यस्तै फेलोसिप ट्रेनिङ सेन्टरलाई २१–८ र २१–१४ को सोझो सेटमा पराजित गर्दै एसभिसिले बिजयी यात्रा सुरु गरेको हो ।

त्यसैगरी प्रतियोगिता अन्तरगत शुक्रबार बिहानको पहिलो खेलमा ज्ञान ज्योती तुलसीपुर र रोल्पा भिड्नेछन् । खेल ९ः३० बजेदेखि सुरु हुनेछ । प्रतियोगिताको बिजेता टिमले नगद ३० हजार, कप, मेडल प्रमाणपत्र हात पार्नेछ । त्यस्तै द्वितीय र तृतीय हुने टिमले क्रमशः नगद २० र १० हजार, कप, मेडल प्रमाणपत्र हात पार्ने छ्न् । तीन दिनसम्म संचालन हुने प्रतियोगितामा १४ टिमको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस