गुरुकुल एकेडेमीद्वारा ५ करोड बराबरको शेयर आह्वान

घोराही । गुरुकुल एकेडेमीले ५ करोड बराबरको शेयर आह्वान गरेको छ । गुरुकुल एकेडेमीले आफ्नो लक्ष्य प्राप्त गर्ने उद्देश्यका साथ आगामी शैक्षिक सत्र २०८१ बैशाखबाट कक्षा प्लेगु्रपदेखि कक्षा ९ सम्मको पठन पाठन गर्ने गरी सञ्चालनमा आउन लागेका आफ्ना शाखाहरू तुलसीपुर र लमहीका लागि ५ करोड बराबरको शेयर आह्वान गरेको गुरुकुल एकेडेमीका अध्यक्ष अनन्त राज घिमिरेले जानकारी दिए ।

गुरुकुल एकेडेमी तुलसीपुर र गुरुकुल एकेडेमी लमहीको अनुमानित लागत करीव २५ करोड रहेको सञ्चालक समितिले जानकारी दिएको छ । जसमध्ये ५१ प्रतिशत शेयर गुरुकुल एकेडेमीको रहने र ४९ प्रतिशत शेयर स्थानीय व्यक्ति, बुद्धिजीवी, शिक्षाप्रेमी लगायतको रहने पनि सञ्चालक समितिले जनाएको छ ।

गुरुकुल एकेडमीको ५१ प्रतिशत शेयरमध्ये ५ करोड बराबरको शेयर आह्वान गरिएको हो । शेयर लगानीको लागि पहिलो प्राथमिकता आफ्ना अभिभावक, कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई दिइने पनि संचालक समितिका अध्यक्ष घिमिरेले जानकारी दिए । गुरुकुल एकेडेमीको शेयर लिन इच्छुक व्यक्तिहरूले न्युनतम १० लाखदेखि अधिकतम ५० लाखसम्म लिन पाउने छन् । सोहीअनुसार कबोल रकममध्ये ५० प्रतिशत रकम यही पुस १५ गतेभित्र विद्यालयको खातामा जम्मा गर्नुपर्ने र बाँकी ५० प्रतिशत रकम फागुन २५ गतेभित्र जम्मा गर्नुपर्ने छ ।

प्रतिकित्ता १०० रुपैयाको दरले शेयर आह्वान गरेको विद्यालयले जनाएको छ । यस सम्बन्धी जानकारी लिनको लागि विद्यालयले ३ जना व्यक्तिहरूको नाम समेत सार्वजनिक गरेको छ । गुरुकुल एकेडेमी घोराहीका प्रधानाध्यापक डा. कृष्णराज डीसी, विद्यालयकी लेखापाल गोमा गौतम र सोधपुछ अधिकृत अस्मिता सुनारलाई सम्पर्क गर्नुपर्ने विद्यालयले जनाएको छ । र, तोकिएका व्यक्तिहरुसँग मात्र जानकारी लिन र रकम विद्यालयको खातामा मात्र भुक्तानि दिन समेत विद्यालयले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस