थमन विक हत्या मुद्दामा ७ जनालाई जन्मकैद

जनकपुरधाम । महोत्तरीमा ८ वर्षअघि भएको सशस्त्र प्रहरी बलका असई थमन विक हत्या अभियोगमा जिल्ला अदालत महोत्तरीले ७ जनालाई जन्मकैदको सजाय सुनाएको छ । यही मुद्दामा प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीले भने सफाइ पाएका छन् ।

मधेश आन्दोलनका क्रममा २५ भदौ २०७२ मा महोत्तरीमा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या भएको थियो । उक्त मुद्दामा २८ साउन २०७५ मा महोत्तरी जिल्ला अदालतमा २८ जनाविरुद्ध कर्तव्यज्यान मुद्दा दर्ता भएको थियो ।

बिहीबार जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले अभियुक्तहरु सञ्जयकुमार साह, प्रदीप साह माझी, मोहन ठाकुर, अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेलाई जन्मकैदको सजाय सुनाएको अदालतकी श्रेष्तेदार नुतन झाले जानकारी दिइन् ।

जन्मकैदको सजाय सुनाइएका अभिराम शर्मा हाल मधेश प्रदेशसभामा लोकतान्त्रिक समाजवादी पार्टीको संसदीय दलका नेता छन् । त्यस्तै जन्मकैदकै सजाय पाएका रामशंकर मिश्र जलेश्वर नगरपालिकाका पूर्वमेयर हुन् ।

यो घटनामा महोत्तरी १ बाट प्रतिनिधिसभामा निर्वाचित लक्ष्मी महतो कोइरीले सफाइ पाएको श्रेस्तेदार झाले बताइन् । यो मुद्दामा जिल्ला अदालत महोत्तरीले थुनछेक आदेशपछि तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउन र चार जनालाई तारेखमा रिहा गर्ने आदेश दिएको थियो । दुई जना तारेख गुजारेर बसेका छन् भने १९ जना फरार छन् । फरार रहेकाहरुको हकमा भने फैसला मुल्तवीमा राखिएको छ ।

कर्तव्य ज्यान मुद्दामा सन्दीप साह माझी, सञ्जयकुमार साह र पवन कापर पुर्पक्षका लागि थुनामा छन् । मुद्दाको फैसला हुँदा कापरले भने सफाइ पाएका छन् ।

अभियुक्तहरु रमेशप्रसाद साह, सतेन्द्र चौधरी, चन्देश्वर साह, राजु चौधरी, नरेश साह, रामराजा साह, गोलु साह, हरिओमकुमार भगत, रविन्द्र राम चमार, रञ्जित साह, विकी साह, फुले यादव, रोहित कुमार शर्मा, लालबाबु बिन, शम्भु साह, अनित ठाकुर, अनिल ठाकुर, देवेन्द्र यादव र कौशल कुमार यादव फरार छन् ।

मधेश आन्दोलनको क्रममा २०७२ भदौ २५ गते हेटौंडाबाट संयुक्त राष्ट्रसंघीय मिसनका लागि परीक्षा दिएर ड्युटीको लागि महोत्तरी आएका असई थमन बिकमाथि महोत्तरीमा आन्दोलनकारीले आक्रमण गरेका थिए ।

प्रकाशित मिति : २०८० मङ्सिर २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस