दंगीशरण । दाङको दंगीशरण गाउँपालिकामा अर्गानिक मल र विषादी बनाउने तालिम बुधबारदेखि सुरु भएको छ । ‘अर्गानिक खेती गरौं, मानव जीवन स्वस्थ बनाउ’ भन्ने नारासहित तालिम सुरु भएको हो ।
दंगीशरण गाउँपालिकाको आयोजना र पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रको सहआयोजनामा तालिम सुरु भएको हो । पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रका अध्यक्ष डिल्ली बहादुर रावतको अध्यक्षता एवं पालिकाका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यता तथा पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोद अधिकारीको विशिष्ट आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो ।

तालिम उद्घाटन समारोहमा बोल्दै अध्यक्ष गिरीले पछिल्लो समय आधुनिक खेतिमा अत्याधिक मात्रामा रासायनिक मलको प्रयोग हुने भएकाले माटोको उर्वराशक्ति कम हुँदै गएको बताए । अत्याधिक मलको प्रयोगले प्रत्यक्ष असर मानव स्वास्थ्यमा परेको गिरीले बताए । पछिल्लो समय रासायनिक मलका कारण मानिसमा नसर्ने रोगको मात्रा बढेको उनले बताए ।
किटनाशक औषधिको प्रयोगले मानव स्वास्थ्यसँगै वातावरणमा समेत असर पारेको बताउँदै किसानहरुलाई अर्गानिक खेती गर्नको लागि प्रेरित गर्न तालिमको आयोजना गरेको बताए । आफुले तालिममा सिकेको सीपलाई व्यवहारमा लागू गरेर आफ्ना छिमेकीहरुलाई अर्गानिक खेती गर्न सिकाउन सहभागीहरुलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनोद अधिकारीले रासायनिक मलको प्रयोगले मानवको आयु घट्दै गएको बताउँदै अर्गानिक खेति गरेर मानव र पृथ्वीको आयु बढाउन सहभागीहरुलाई आग्रह गरे । दंगीशरण गाउँपालिका कृषि शाखाका प्राविधिक सहायक मान बहादुर डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको प्रशिक्षकमा तुलसीपुर उपमहानगरपालिका कृषि शाखाका प्रमुख धनराज गौतम रहेका छन् ।
तालिममा दंगीशरणका सबै वडाका गरि ३५ बढी कृषकहरूको सहभागिता रहेको छ । तालिम मंसिर २९ गतेसम्म चल्नेछ ।


