युक्रेनी सेनाको कब्जामा दाङ बिजौरिका प्रतीक

बिजौरी । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुन युक्रेनी सेनाको कब्जामा रहेको भिडियो सार्वजनिक भएको छ ।

उनले भिडियोमार्फत आफू रुसी सेनामा भर्ती भएको र अहिले युक्रेनी सेनाले आफूलाई कब्जामा लिएको बताएका छन् । ‘मेरो नाम प्रतीक पुन हो । मेरो घर नेपालको दाङ जिल्लास्थित बिजौरी पर्छ । म रुसी सेनामा भर्ना भएको थिएँ, अहिले युक्रेनको कब्जामा छु,’ प्रतीकले भिडियोमा भनेका छन् ।

परिवारका एक्ला छोरा प्रतीकका बाबा ताराप्रसाद पुनको दुवै मिर्गौला फेल भइ एक वर्षअघि मृत्यु भएको थियो । उनको बाबाको उपचारमा लागेको ऋण र घर बनाउँदा गरिएको खर्च तिर्न मामाहरूले उनलाई पोर्चुगल पठाउने योजना सुनाए । तर, प्रतीकलाई कुनै साथीले पोर्चुगलभन्दा रुसमा राम्रो कमाइ हुने बताइदियो । उनी काठमाडौंको एक कन्सल्टेन्सीमार्फत ११ लाख खर्चिएर असार अन्तिम साता रुसका लागि उडे ।

रुसी सेना बनेर मनग्गे कमाइ गर्ने प्रलोभनमा परेका प्रतीक सेनामा भर्ती भएपछि रुसको राजधानी मस्कोमा तीन महिना बसेका थिए । प्रतीक ३ महिनाअघि रसियामा तालिम लिएर युद्धमा होमिएका थिए । त्यसैक्रममा उनी युक्रेनी सेनाको कब्जामा परेका हुन् ।

युक्रेनी सेनाले नियन्त्रणमा लिएको पाँच दिन बितिसक्दा समेत नेपाल सरकारका तर्फबाट भने पुन परिवारलाई सामान्य आश्वासन समेत आएको छैन । यो बीचमा प्रतीकले उद्धारको याचना गरेको २ वटा भिडियो सार्वजनिक भइसकेको छ ।

प्रतीककी आमा तिलकुमारी पुन छोरा रुस पुगेपछि कमाइ गर्ला भन्ने आशामा थिइन् तर अहिले छोरा युक्रेनी सेनाको कब्जामा परेको खबर आएको छ । ‘साहुले ऋण कहिले तिर्छौ भन्छन्,’ तिलकुमारीले भनिन्, ‘रुसमा रहेको एक्लो छोरोले मलाई उद्धार गर, म दुस्मनको कब्जामा छु भन्छ, हे भगवान १ मेरो छोरोलाई दुस्मनहरूको कब्जाबाट उन्मुक्ति देऊ ।’

प्रतीकको फोन प्रतीक्षा गर्दै परिवार सदस्यहरू भगवानसँग प्रार्थना गरेर बसेका छन् । सरकारले पहल गरेर छोरो छुटाइदिन्छ कि भन्ने झिनो आशा उनका परिवारलाई छ ।

रुस पुगेयता प्रतीकले दुईपटक गरेर १ लाख २५ हजार रुपैयाँ मात्र घरमा पठाएका थिए । एक साताअघि परिवारसँगको कुराकानीमा उनले केही दिनमै तलब आउने र घरमा पठाउने बताएका थिए ।

विद्यार्थी भिसामा रुस गएका नेपाली युवा सेनामा भर्ती हुने क्रम बढेको छ । यसक्रममा ६ जनाको मृत्यु तथा अन्य केही घाइते समेत भएका छन् । प्रतीकसहित बाँकी केही भने युक्रेनी सेनाको नियन्त्रणमा छन् ।

प्रकाशित मिति : २०८० मङ्सिर २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस