दाङमा कुकुरको टोकाईबाट दुई बालबालिकाको मृत्यु

दाङ । दाङमा कुकुरको टोकाईबाट घाइते भएका दुई बालवालिकाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१० को अम्राइका दुई बालबालिकाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गत मंसिर २२ गते घोराही उपमहानगरपालिका–१० अमराई निवासी नरेश चौधरीको ५ वर्षकी छोरी निलम चौधरी र गत मंसिर २४ गते घोराही उपमहानगरपालिका–१० अम्राइकै गिरिराज वलीको ६ वर्षका छोरा गम्बिर वली रहेका छन् ।

घाइते वलीको भारतको लखनउमा उपचार गर्दै गर्दा मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् । एकै गाउँका दुई जना बालकको मृत्यु भएसँगै गाउँमा त्रासको वातावरण सिर्जना भएको स्थानीय कृष्ण रावतले बताए ।

कुकुरले टोकेको दुई दिनपछि निलमको घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो भने वलीको लखनउमा उपचार गर्दै गर्दा मृत्यु भएको उनले बताए । तर प्रहरीले यसबारेमा केही जानकारी नआएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले अहिलेसम्म कुनै जानकारी नआएको जनाएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस