तनहुँ । तनहुँको ब्यास नगरपालिका–२ घाँसीकुवामा यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। आज बिहान पौने ६ बजे पोखरा जाँदै गरेको ग १ ख ७८९५ नम्बरको यात्रुवाहक बस पृथ्वी राजमार्ग सडक खण्डको घाँसीकुवमा सडकबाट अन्दाजी २० मिटर तल खसेर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहनबहादुर खाणका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका धनकुटाको सागुरीगढी गाउँपालिका–९ का ४५ वर्षीय हस्त राई र ठेगाना नखुलेको अन्दाजी ५०–५५ वर्षका टोप बहादुर मगरको उपचारका क्रममा मृत्यु भएको हो।
राईको दमौलीस्थित रत्नहरी मेमोरियल अस्पताल र मगरको दमौली अस्पताल तनहुँमा उपचारका क्रममा मृत्यु भएको डिएसपी खाणले जानकारी दिए। दुर्घटनामा परी चालकसहित ३६ जना घाइते भएका छन्।
घाइतेहरूको पोखरास्थित मणिपाल शिक्षण अस्पताल र तनहुँको रत्नहरी मेमोरियल अस्पताल उपचार भइरहेको डिएसपी खाणले जानकारी दिए। प्रारम्भिक अनुसन्धान अनुसार बस अनियन्त्रित भएर दुर्घटना भएको हो। यसबारेमा थप अनुसन्धान भइरहेको डिएसपी खाणले बताए।


