अभियुक्त भगाएको आरोपमा दुई प्रहरी जेल चलान

रसुवा । रसुवामा कुटपिट आरोपमा पक्राउ परेका व्यक्ति बीच बाटोबाटै गायब भएपछि पक्राउ परेका दुई प्रहरीलाई कारागार चलान गरिएको छ। कारगार चलान हुनेमा जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत प्रहरी सहायक निरीक्षक रामविद्या शाह र प्रहरी वरिष्ठ हवल्दार जगतनारायण वछाड थारू रहेका छन्। पक्राउ गरिएको व्यक्तिलाई जिल्लास्तरमा ल्याउने क्रममा बीच बाटोमै गायब गराएको आरोप उनीहरूमाथि लागेको छ।

मानिस कुटपिट गर्ने गोसाइँकुण्ड गाउँपालिका–१ थुमनका अन्दाजी ४२ वर्षीय काले भन्ने छिरिङ तामाङलाई थुमनबाट प्रहरी नियन्त्रणमा लिइ जिल्ला प्रहरी धुञ्चे ल्याउँदै गर्दा बेपत्ता बनाएको आरोपमा सुरक्षाकर्मीद्वय पक्राउ परेका हुन् । उनीहरुलाई धरौटीसहित तारेखमा छोड्ने रसुवा जिल्ला अदालतबाट आदेश जारी भएकोमा तोकिएको जनही रु छ लाख ५० हजार धरौटी राख्न नसक्दा ती दुई प्रहरी कारागार चलान भएका हुन्।

यस्तै मानिस बेपत्ता बनाउने कार्यमा सहयोग एवं संलग्न भएको आरोपमा पक्राउ परेका गोसाइँकुण्ड गाउँपालिका–१ थुमनका उर्केन छिरिङ तामाङ रू पाँच लाख र दावा ग्याल्जेन तामाङ रू तीन लाख धरौटीमा रिहा भएका छन् । पक्राउ गरिएका सबैलाई मानिस बेपत्ता गराउने अभियोगमा सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति : २०८० मङ्सिर १० गते आइतवार
प्रतिक्रिया दिनुहोस