चितवन । चितवनमा हत्या गरी फालिएको अवस्थामा भेटिएका दुई जनाको सनाखत पाँच दिनमा पनि हुन सकेको छैन। बुधबार दिउँसो पौने १ बजेतिर भरतपुर महानगरपालिका–१२ मिलनचोक स्थित पूर्व–पश्चिम लोकमार्ग सडकको कल्भर्ट मुनी दुई जनाको शव फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालयका अनुसार शव पहिचान हुन नसक्दा अनुसन्धान गर्न पनि जटिल भइरहेको छ। कल्भर्ट मुनी दुई वटा बोराभित्र हातखुट्टा बाँधिएको अवस्थामा पुरूष र महिलाको शव फेला परेको थियो। शव पहिचान नभएपछि प्रहरीले मृतकको शरीरमा रहेका चिजवस्तु, चिन्ह तथा कपडाहरुको तस्बिर सार्वजनिक गर्दै पहिचानमा सहयोग गर्न आग्रह गरेको छ।
प्रहरीले शव पहिचानका लागि ७७ वटै जिल्लालगायत सीमावर्ती भारतीय जिल्लाहरूमा समेत हुलिया परिपत्र गरेको छ। पहिचान खुलेमा नजिकको प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय चितवनमा ९८५५०९०१३३ मा सम्पर्क गर्न पनि प्रहरीले अनुरोध गरेको छ।


