महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा व्यापारीलाई धम्की दिएर पाँच लाख रुपैयाँ फिरौती मागेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका घर भई महेन्द्रनगरमा बस्दै आएका ४७ वर्षीय चन्द्रदेव जोशी र दार्चुलाको लेकम गाउँपालिका घर भई भीमदत्त नगरपालिका–३ मा बस्ने गरेका २६ वर्षीय नरेश साउदलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मंगलबार पत्रकार सम्मेलन गरी जोशी र साउदलाई सार्वजनिक गरेको छ । उनीहरूका साथबाट खुकुरी, चक्कु, विभिन्न कम्पनीका सिमकार्ड, मोबाइल सेटलगायत सामग्री बरामद गरिएको प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।
‘अभियुक्तले विभिन्न व्यापारीको सूची तयार गरेर डरधम्की दिएर फिरौती रकम माग गर्ने गरेको पाइयो,’ थापाले भने, ‘व्यापारीले तीन लाख दिने तयारी गरेसँगै हामीले अभियुक्तलाई नियन्त्रणमा लिएका हौँ ।’
मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को दफा २५३ बमोजिम आवश्यक कारबाहीका निम्ति मुद्दा प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।


