नगरप्रमुख खड्काको पहलमा पम्फीकाे उपचार   काठमाण्डौमा ।


तुलसीपुर  । खाना पकाउने क्रममा जलेर घाइते भएकी दाङको तुलसीपुर-१९ सुंगुरखोलाकी २८ वर्षीय पम्फी पुनलाई नगरप्रमुख टिकाराम खड्काको पहलमा उपचारका लागि काठमाडौँ पठाइएको छ ।  

उहाँले बिहीवार साँझ व्यक्तिगत रुपमा पुनको उपचार गर्नका लागि काठमाडौँ पठाउनुभएको हो ।

कार्तिक ९ गते खाना पकाउने क्रममा जल्दा घाइते भएकी पुनलाई उहाँका श्रीमानले कार्तिक १० गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउनुभएको हो ।

अस्पतालमा डाक्टरहरूले उहाँको यहाँ उपचार गर्न सम्भव नभएको भन्दै तत्काल अन्यत्र लैजान सुझाव दिएका थिए । 

श्रीमानले आर्थिक अभावका कारण बाहिर लैजान सकेका थिएनन् ।

आफ्नी श्रीमतीको उपचारका लागि आर्थिक जोहो गर्न उपमहानगरको कार्यालयमा पुगेपछि नगरप्रमुख खड्काले आथिक सहयोग गरेर काठ्माण्डौ पठाउनुभएको हो । 

दाङबाट काठमाडौँसम्म पुग्न लागि उपमहानगरबाट निःशुल्क एम्बुलेन्स सेवा सहित व्यक्तिगत रुपमा आर्थिक सहयोग गरेर उहाँले काठमाडौँ पठाउनुभएको हो । 

नगरप्रमुख खडकाका अनुसार पुनको उपचारमा आर्थिक अभावकै कारण समस्या नहोस्, भन्ने उद्देश्यका साथ आर्थिक सङ्कलनको अभियान नै थाल्ने र उपमहानगरले कार्यपालिकाको निणर्य गरेर थप रकम उपलब्ध गराउने छ ।

यस्तै उहाँको उपचारको लागि यस क्षेत्रका युवाहरूले समेत सहयोग गरेका छन् ।

बिहीवार मात्रै करिब ३० हजार रकम संकलन गरेर उहाँका श्रीमानलाई रकम हस्तान्तरण गरिएको युवा सुशील खड्काले बताउनुभयो । उहाँका पाँच जना सन्तान रहेका छन् ।

श्रीमान् बुद्धिराम पुनले आर्थिक अवस्था कमजोर भएकाले उपचारमा सहयोग गर्नका लागि सबैमा आग्रह समेत गर्नुभएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस