दाङ । म्याद सकिएको २१ दिन बितिसक्दा पनि घोराही-तुलसीपुर चार लेन सडक मर्मतको काम पूरा हुन सकेको छैन । सडकमा परेका खाडल र धुलोका कारण सवारीसाधन सञ्चालनसँगै धुलोका कारण जनताले दिनहुँ दुःख पाइरहेका छन् ।
करिब २७ किलोमिटर सडक मर्मतका लागि चार महिना बितिसक्दा पनि मर्मत हुन सकेको छैन् । २०८० असोज मसान्तसम्म सडक मर्मत गर्ने गरी गत असार १८ गते सडक डिभिजन कार्यालय दाङले दुई वटा निर्माण कम्पनीसँग सम्झौता गरेको थियो ।
ठेक्का सम्झौता अनुसार असोज महिनाभित्र सडक मर्मतको काम सकिनुपर्ने भए पनि अहिलेसम्म सडक मर्मतको काम नसकिएको सडक डिभिजन कार्यालय दाङका इन्जिनियर महेश विकले जानकारी दिनुभयो । करिब ८० प्रतिशत मर्मतको काम सकिए पनि अझै २० प्रतिशत काम गर्न बाँकी रहेको जनाइएको छ ।
उहाँका अनुसार चार लेन सडक अन्तर्गत अन्य ठाउँको काम सकिए पनि घोराही बजारदेखि सर्रासम्म र तुलसीपुरको बिजौरी क्षेत्रमा सडक मर्मतको काम अझै हुन सकेको छैन ।
समयमै काम गरेको भए अहिलेसम्म सकिनुपर्ने भए पनि निर्माण व्यवसायीको ढिलाइ कारण काम हुन नसकेको उहाँले बताउनुभयो ।
चार लेन सडक निर्माणको ठेक्का तोडिएपछि पुरानै सडकलाई मर्मत गर्नका लागि सडकलाई दुई खण्डमा विभाजन गरेर कार्यालयले ठेक्का सम्झौता गरिएको थियो ।
जस अनुसार घोराहीको कुइरेपानीदेखि हापुरखोलासम्म रोल्पा निर्माण सेवा प्रालिसँग र हापुर खोलादेखि तुलसीपुरसम्मको सडक मर्मतका लागि रोल्पा स्वच्छन्द निर्माण सेवा प्रालिसँग सम्झौता भएको थियो ।
रोल्पा स्वच्छन्द निर्माण सेवा प्रालिले घोराही-तुलसीपुर सडकखण्डको हापुर खोलादेखि तुलसीपुरसम्म एक करोड १६ लाखमा मर्मतको ठेक्का र रोल्पा निर्माण सेवा प्रालिले कुइरेपानीदेखि घोराहीको हापुर खोलासम्मको सडक एक करोड ४२ लाख रुपियाँमा मर्मतका लागि ठेक्का सम्झौता गरेका थिए ।


