काठमाडौं । नेपालगञ्जका चेतन मानन्धरलाई खुँडा प्रहार गरेर हत्या गरेको घटनामा दोषी ठहर भएका योगराज ढकाल (रिगल) को बाँकी कैद मिनाहा गर्ने निणर्य सर्बोच्च अदालतद्धारा बदर भएको छ ।
न्यायाधीश ईश्वर खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निणर्य बदर गर्न आदेश गरेको हो ।
अदालतले उनलाई तत्काल थुनामा पठाउन उत्प्रेषणको आदेश दिएको छ । अदालतको आदेशसँगै प्रहरीले ढकाललाई ‘तत्काल पक्राउ गरेर बुझाउने’ बताएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतका अनुसार ‘अदालतको आदेशसँगै प्रहरीले उनको खोजी गर्ने र तत्काल पक्राउ गरेर कारागारमा बुझाउँने छ ।’
हिजो बुधबारसम्म उनलाई निगरानी राख्ने ठाउँ नभएको बताउँदै उहाँले ‘प्रहरीले उनको खोजी गरिरहेको बताउनुभयो ।
आफ्ना पति चेतन मानन्धरको जघन्य हत्या गर्नेलाई कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद र मन्त्रिपरिषदको सिफारिस अनुसार कार्यान्वयन गर्ने राष्ट्रपतिको निणर्य खारेजीको माग गर्दै भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दिनुभएको थियो ।
रिगलमाथि नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर गत २०७२ को २८ असार मा चेतन मानन्धरको हत्या गरेको अभियोग थियो ।
उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ वैशाखमा दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।
घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो ।
तर संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि रिगल जिल्ला कारागार, दाङबाट रिहा भएका थिए ।


