राष्ट्रियसभामा रिक्त हुने सांसदकाे निर्वाचन माघकाे दाेस्राे साता गर्ने आयोगकाे तयारी

काठमाडौ । निर्वाचन आयोगले राष्ट्रियसभाको निर्वाचन माघको दोस्रो हप्ता सम्ममा गर्नेगरी तयारी गरेको छ ।आयोगले अगामी फागुन २१ गते रिक्त हुन आउने २० जना राष्ट्रियसभा सदस्य पदका लागि माघको दोस्रो हप्ता सम्ममा निर्वाचन गर्ने तयारी गरेको हो ।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो कुरा जानकारी दिनुभएको हो । उहाँले फागुन २१ गते २० जना राष्ट्रिय सभा सदस्यको पद रिक्त हुने र त्यसमध्ये १९ जनाको ठाउँमा निर्वाचन गर्नुपर्ने बताउनुभयो ।

आयोगले माघको १०, ११ अथवा १२ गते भित्रमा निर्वाचन गर्नेगरी तयारी गरिरहेको बताउनुभयो ।

त्यसैगरी रिक्त रहेको स्थानमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका विभिन्न पदहरुमा आगामी बैशाख महिनामा निर्वाचन गर्नेगरी सरकारलाई परामर्श दिइएको उहाँको भनाइ छ ।

निर्वाचन आयोगप्रमुख निर्वाचन आयुक्त थपलियाले यसै आर्थिक वर्षबाट स्थानीय तहमार्फत् मतदाता नामावली संकलन गर्ने काम अगाडी बढाउने पनि जानकारी दिनुभयो ।

त्यस्तै विदेशमा भएका तर मतदाता नामावलीमा नाम नभएका नेपालीहरुको पनि मतदाता नामावलीमा नाम संकलन गर्ने गरी काम अगाडी बढेको बताउनुभयो ।

प्रकाशित मिति : २०८० कार्तिक १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस