काठमाण्डौ । पर्यटक आगमनमा उल्लेख्यरुपमा वृद्धि भएको देखिएको छ । सन् २०२३ को अक्टोबरमा मात्रै १ लाख १७ हजार ३०६ पर्यटक नेपाल भित्रिएको अध्यागमन विभागको तथ्यांकलाई उद्दृत गर्दै नेपाल पर्यटन बोर्डले जनाएको छ ।
यो एक महिनामा नेपाल भित्रिएका पर्यटकको इतिहासमै कीर्तिमानी संख्या रहेको छ ।
नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार सन् २०१९ को अक्टोबरमा आएका १ लाख १३ हजार संख्या एक महिनामा आएका पर्यटकको सबैभन्दा ठूलो संख्या थियो । जुन रेकर्ड यस वर्ष तोडिएको हो ।
अक्टोबर महिनामा गैरआवासीय नेपालीको जमघट नेपालमा हुन्छ । उनीहरु समेत नेपाल आउँदा पर्यटकका रुपमा गणना हुन्छ ।
यो सम्मेलनको प्रभाव समेत यस महिनामा परेको देखिने गरेको छ ।
व्यवसायीहरुका अनुसार भारत, बंगलादेश, चीन, श्रीलंकासहितका मुलुकबाट आउने सबैजसो पर्यटक नै भएपनि अमेरिका र युरोपबाट आएकाहरुमा गैरआवासीय नेपालीको समेत संख्या उल्लेख्य रहने गरेको हो ।
नेपाल पर्यटन बोर्डका अनुसार अक्टोबर २०२२ मा ५२ हजार १२१, २०२१ मा १५ हजार ७१५ र सन् २०२० मा १ हजार ८३१ जना पर्यटक नेपाल भित्रीएका थिए ।
अक्टोबर महिनामा सबैभन्दा धेरै भारतबाट १८ हजार ४८० जना पर्यटक नेपाल आएका हुन् ।
नेपाल आउने पर्यटकमध्ये दोस्रो स्थानमा अमेरिकी रहेका छन् । अमेरिकाबाट १४ हजार ८७९ जना पर्यटक नेपाल आएको तथ्यांकमा उल्लेख गरिएको छ । तेस्रो स्थानमा बेलायती रहेका छन् ।
बेलायतबाट ८ हजार २ सय १७ पर्यटक नेपाल आएका हुन् । चीनबाट ६ हजार ८ सय ८०, अष्ट्रेलियाबाट ६ हजार ७५, जर्मनीबाट ५ हजार ९१६, फ्रान्सबाट ५ हजार २७१, बंगलादेशबाट ४ हजार २९२, श्रीलंकाबाट २ हजार ५०७ र इटालीबाट २ हजार ४६७ जना पर्यटक नेपाल आएका हुन् ।


