दाङ । दाङमा दशैमा मात्रै झण्डै ८ सय सवारी चालक कारबाहीमा परेका छन् ।
गत असोजको २८ गतेदेखि दशैको कोजाग्रत पूर्णिमासम्ममा ७ सय ६२ वटा सवारी चालक कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख किरण प्रकाश मल्लले जानकारी दिनुभयो ।
प्रमुख मल्लका अनुसार ७ सय ६२ वटा सवारी साधन कारबाहीबाट ५ लाख ७० हजार ५ सय रुपैंया राजस्व संकलन भएको छ ।
जिल्लामा सरदर दैनिक रुपमा ६० वटा सवारी साधन कारबाहीमा परेका छन् । कारबाहीमा पर्नेमा सबैभन्दा धेरै मोटरसाइकल चालक रहेको प्रहरीले जनाएको छ ।
दशैमा मात्रै ३ सय २७ वटा मोटरसाईकल कारबाहीमा परेको छ । जसबाट दुई लाख ५० हजार रुपैंया राजस्व संकलन भएको छ ।
हेलमेट नलगाउने, लाइसेनस नबोेक्ने, दुई जना भन्दा धेरै बोकेर मोटसाइकल चलाउनेलाई कार्बाही गरिएको प्रमुख मल्लले जानकारी दिनुभयो ।
मोटरसाइकलपछि कारबाहीमा पर्नेमा दोस्रोमा अटोसरिक्सा चालकलाई कारबाही गरिएको छ ।
ट्राफिक नियम विपरित अटोसरिक्सा चलाउने १ सय २४ जना चालकलाई कारबाही गरिएको छ । जसबाट ८५ हजार रुपैंया राजस्व संकलन भएको छ ।
नियम विपरित जिप/कार चलाउने १०८ जना चालकलाई कारबाही गर्दा ८९ हजार ५ सय रुपैंया राजस्व संकलन भएको छ ।
यस्तै ८७ वटा ट्रक कारबाहीबाट ६२ हजार ५ सय, ७९ वटा बस कारबाहीबाट ५७ हजार ५ सय र ३७ वटा टयाक्टर कारबाहीमा पर्दा २६ हजार रुपैंया राजस्व संकलन भएको प्रहरीले जनाएको छ ।
चाडपर्वको समयमा ट्राफिक नियम विपरित सवारी चलाउनेलाई ट्राफिक प्रहरीले ठाउँका ठाउँ कारबाही गरेको हो ।
तीव्र गतिमा सवारी चलाउने, सवारी चलाउँदा मादक पदार्थ सेवन गरेको, क्षमता भन्दा धेरै यात्रु बोक्ने, लाइसेन्स नबोक्ने, हेल्मेट नलगाएको, लेनको पालना नगर्ने, जथाभाबी हर्न बजाउनेलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो ।


