नेपालीलाई नाकामा जहिल्यै समस्या

कैलाली । दशैँ नजिकिएसँगै सुदूरपश्चिमका सीमा नाका हुँदै भारतबाट धेरै नेपाली घर फर्किरहेका छन् ।

मजदुरी गर्न भारतका विभिन्न ठाउँमा गएकाहरु दशैं मनाउन फर्किन थालेपछि नाका क्षेत्रमा चहलपहल बढेको छ ।

कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, दार्चुलाको जोलजीवी र बैतडीको झुलाघाट लगाएतका नाकाबाट स्वदेश फर्किनेको लर्को नै लागेको छ ।

ती नाकाबाट पछिल्लो तीन हप्तामा ८ हजार  नेपाली स्वदेश फर्किएका स्थानीय प्रशासनले जनाएका छन् ।

चाडपर्वको समयमा स्वदेश फर्किनेहरुले नाकामा अनेक खालका सास्ती व्यर्होनुपर्ने कुरा नौलो लाग्न छाडेको छ ।

चेकजाँचका नाममा नेपाली सुरक्षाकर्मी र भारतीय सुरक्षाकर्मीले अनावश्यक दुःख दिदा नाकामा सास्ती खेप्नुपर्ने  नेपाली मजदुरहरुको  बाध्यतारहेको छ ।

पछिल्लो समय नेपालमा सरकारले पाँच सय र एक हजार दरको भारतीय नोट प्रतिबन्ध गरेपछि यसको  सीमावर्ती क्षेत्रका विचौलियाहरुले फाइदा लिइरहेका छन् ।

भारतबाट फर्किने नेपालीले नोट सटहीका नाममा ३ देखि १० प्रतिशतसम्म कमिसन दिनुपरेको उनीहरूकाे गुनासाे छ ।

दशैँ मनाउन  कैलाली फर्किएका लम्कीचुहा नगरपालिका–६ का हरिश खत्रीले पैसा सटहीको नामममा विचौलियाले दुःख दिएको गुनासो गर्नुभयो  ।

उहाँले आफूसँग भएको दुई लाख भारतीय रुपैयाँ साट्दा २० हजार रुपैयाँ मागिएको गुनासो पाेख्नुभयाे ।

खत्रीले वनगाउँमा खोका राखेर भारतीय रुपैयाँ सटही गरिराखेका विचौलियाले सुरु १० प्रतिशतका दरले दुई लाख साट्दा २० हजार मागेपनि अन्तिममा १० हजारमा मानेको बताउनुभयाे ।

नेपालमा भारतीय रुपैयाँ नचल्ने भएका कारण बाध्य भएर विचौलियालाई कमिसन तिरेर साट्नुपरेको उहाँको भनाइ छ ।

उहाँ त केबल एक प्रतिनिधि पात्र मात्र हुनुहुन्छ  सिमानाकामा यस्तो समस्या चाडपर्वकाे समयमा पुरानै हाे ।

तर समस्या यतिमात्र हाेईन अटो रिक्सा चालकहरुले गौरीफन्टा नाकाबाट धनगढी चौराहसम्म लगेको एक सयदेखि डेढ सय रुपैयाँसम्म असुल्ने गरेको नेपाल फर्किनेहरुको गुनासो गर्ने गरेका छन् ।

तर यस्तो समस्या समाधानका लागि कसैले चासाे नदिएकाे नागरिकको गुनासो छ ।

प्रकाशित मिति : २०८० असोज २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस