बेलझुण्डी ।
दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय केन्द्रिय कार्यालय र सेवा आयोगको कार्यालयमा लागेको ताला खुलेको छ ।
नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीले दुवै कार्यालयमा लगाएको ताला करिब महिना दिनपछि खुलेको हो । क्रान्तिकारी विद्यार्थी संगठनले पाँच बुदे सहमती गरेर ताला खोलेको हो ।
बिहिबार भएको सहमतिमा नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक डाक्टर रमेश ढकालको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदनले औँल्याएका विषयहरु कार्यान्वयन गर्ने, सेवा आयोगका आगामी विज्ञापनहरुमा आवेदन फारमहरु अनलाइन मार्फत भर्ने व्यवस्था मिलाउने उल्लेख गरिएको छ ।
त्यसैगरी नेपाल संस्कृत विश्वविद्यालय अतिसंवेदनशिल शाखा विभागमा कार्यरत प्राध्यापक र कर्मचारीको आवश्यकता र औचित्यको आधारमा न्यायोचितरुपमा व्यवस्थापन गर्ने, सेवा आयोगले लिने कर्मचारी पदका विज्ञापन संवद्ध परिक्षाहरु केन्द्रिय कार्यालय दाङमै संचालन गर्ने व्यवस्था मिलाउने सहमति भएको उल्लेख गरिएको छ ।
विद्यार्थी संगठनको तर्फबाट अखिल क्रान्तिकारीका विष्णु चौधरी, गणेश पौडेल र बिन्दु खड्का तथा वार्ता टोलीका संयोजक डा.जर्मन चौधरी, सदस्य किशोर चन्द्र गौतम र कपिलदेव सुवेदीले पाँच बुदे सहमतीपत्रमा संयुक्तरुपमा हस्ताक्षर गरेका हुन् ।
नेसंवमा बिभिन्न निहुँमा विद्यार्थीहरुले तालाबन्दी गर्दा कामकारबाही प्रभावित हुने गरेका छन् । तर बिहिबार पाँच बुदे सहमतीपछि ताला खोलिएको हो ।


