भाडाको घरमा संचालित कार्यालय स्थानान्तरण गरिने


दाङ ।
यातायात व्यवस्था कार्यालय राप्ती तुलसीपुरलाई तुलसीपुर-६ गाइडहरमा सारिने भएको छ । गाइडरमा उपयुक्त सरकारी संरचना रहेकोले भाडाको घरमा रहेको यातायात कार्यालयलाई सारिने भएको हो ।

गाइडरमा कार्यालय सार्ने लुम्बिनी प्रदेश सरकारले निणर्य गरेको हो । आइतवार बसेको मन्त्रीपरिषदको बैठकले घोराही रोडमा रहेको यातायात कार्यालयलाई  गाइडहरमा सार्ने निणर्य गरेको मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले जानकारी दिनुभयो । 

गाइडरमा रहेको सरकारी पूर्वाधार र यातायातका लागि आवश्यक क्षेत्रफल भएको हुँदा यातायात कार्यालय उक्त स्थानमा स्थानान्तरण गर्ने निणर्य गरिएको मुख्यमन्त्री चौधरीले बताउनुभयो । 

अहिले यातायात कार्यालयले मासिक ८० हजार रुपैया तिरेर भाडाको घरमा छ भने कार्यालय स्थान समेत साघुँरो अवस्थामा छ । गाइडहरमा रहेको सामाजिक विकास डिभिजन कार्यालयलाई भने शिक्षा तालिम केन्द्र तुलसीपुर-१२ कपडादेवीमा स्थानान्तरण गरिएको छ ।

 विषयगत मन्त्रालय अन्तरगत रहेको शिक्षा तालिम केन्द्रको पूर्वाधार प्रयोग बिहीन भएको र त्यसको मर्मत सम्भार समेत नहुने अवस्था आएपछि सामाजिक विकास डिभिजनलाई कपडादेवीमा र यातायात कार्यालयलाई गाइडहरमा सार्ने निणर्य गरिएको हो । 

गाइडहरमा सामाजिक विकास डिभिजन भन्दाअघि सिप विकास कार्यालय रहदै आएको थियो । मुख्यमन्त्री चौधरीले यातायताका लागि आवश्यक पूर्वाधार र जग्गा गाइडरमा रहेको हुँदा उपयुक्त स्थान अनुसार कार्यालय सारिएको बताउनुभयो । 

गाइडहरमा सबै यातायातका लागि आवश्यक सबै पूर्वाधार निर्माण गर्न सक्ने अवस्था छ । यो क्षेत्रमा मापदण्ड अनुसारका यातायाताका पूर्वाधारहरु निर्माण गर्न सहजै सकिने योजना आयोगका उपाध्यक्ष डा नहकुल केसीले बताउनुभयो ।

सामाजिक विकास डिभिजनले स्वामित्वमा लिएका सिप विकासमा स्वरोजगारसंग संबन्धित सामग्रीहरु भने उद्योग मन्त्रालयलाई हस्ताणतरण गर्ने निणर्य गरिएको छ । 

गाइडहर क्षेत्रमा यातायाताका लागि झण्डै एक विगाह जग्गा उपलब्ध भएको छ । स्थानीय सन्तोष लामिछानेले यातायात कार्यालय गाइडहरमा सारिनु उचित भएको बताउनुभयो ।

प्रकाशित मिति : २०८० भाद्र १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस