बाढी–पहिरोको वितण्डा : कोशीका ३ जिल्लामा २६ जना बेपत्ता

काठमाडौं । मनसुन सुरु भएसँगै परेको वर्षाका कारण पूर्वी नेपालका पहाडी जिल्लामा ठूलो क्षती भएको छ ।

अभिरल वर्षाका कारण पूर्वी नेपालका पहाडी जिल्लामा बाढी र पहिरोले जनजीवन प्रभावित बनेको छ।

कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर र संखुवासभामा बाढी र पहिरोमा परी १० जना बेपत्ता छन्। १ जनाको मृत्यु भएको छ भने १६ जना सम्पर्कविहीन भएका छन्।

ताप्लेजुङ

ताप्लेजुङको सिदिङवा गाउँपालिकामा(६ मेहेलेमा पहिरोमा परि एकै घरका ३ जना सहित ४ जना बेपत्ता भएका छन् ।

घर माथिबाट आएको पहिरोमा परि यामकुमार बुढाक्षेत्रीकी श्रीमती भगीमाया बुढाक्षेत्री, उनकी बुहारी सन्ध्या बुढाक्षेत्री र नाती प्रज्वाल बुढाथोकी बेपत्ता भएको मेहेलेबाट जिल्ला समन्वय सदस्य कला कडरियाले जानकारी दिए।

सोही पहिरोमा परि हर्कबहादुर तामाङको छोरा गणेश तामाङ पनि हराएको कडरीयाले बताए । स्थानीय बासीहरु घटनास्थालमा पुगेका छन् भने प्रहरी प्रशासन घटनास्थल पुग्दै छ ।अहिले पनि यहाँ अविरल वर्षा भइरहेको छ ।

संखुवासभा

संखुवासभाको हेवा खोलामा आएको बाढीमा परेर एक जनाको मृत्यु हुनुको साथै चैनपुर नगरपालिका(४ स्थित उक्त खोलामा निर्माणाधीन जलविद्युत आयोजनाका १६ जना कामदार बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारका अनुसार निर्माणाधीन सुपर हेवा हाइड्रोमा १९ जना कार्यरत रहेकोमा १६ जना बेपत्ता भएको र तीनको उद्धार गरिएको छ ।

पाँचथर

गएराति हेवा खोलामा आएको बाढीमा परेर हिलिहाङ ७ का दिलकुमार तामाङ र फिदिम १० का सन्जोग लोवासहित ६ जना बेपत्ता भएको फिदम प्रहरीले जनाएको छ। वेपत्ताहरुको खोजीकार्य जारी छ ।

बाढीले फिदिम ४ हेवा खोलामा गिटी कुटेर गुजारा चलाउँदै आएका एक, फालेलुङ ३ मा एक र फिदिम ४ माझी टारमा २ गरी ६ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

बाढीले मेची राजमार्गस्थित पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाँउपालिका जोड्ने हेवाखोलाको पुल बगाई मेची राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको छ। यस्तै फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा दुई वटा मोटरेवल र एउटा झोलुङगे पुल बगाएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८० असार ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस