विश्वविद्यालयको दीक्षान्त समारोह भोलि, तयारी पुरा

बेलझुण्डि :  दाङको बेलझुण्डीमा रहेको नेपाल संस्कृत विश्वविद्यालयको बुधबार हुने पाचौँ दीक्षान्त कार्यक्रममा तयारी पुरा भएको छ ।

विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को  अध्यक्षतामा  कार्यक्रम हुने विश्वविद्यालयका उपकुलपति  प्रा.डा यादव प्रसाद लामिछानेले बताए । यस्तै कार्यक्रम बिहान साढे ११ बजे हुने र कार्यक्रमका प्रमुख अतिथि  भारतको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय, वाराणसीका कुलपति तथा प्रा.डा हरेराम त्रिपाठी रहेको पनि उनको भनाइ छ । 

उनले भने,‘ विगत  १२ वर्षदेखि रोकिएको कार्यक्रम भोलि सम्पन्न हुन लागेको हुँदा गौरवको कुरा हो । यो कार्यक्रम प्रत्येक वर्ष हुनु पर्ने हो ? तर, विभिन्न कारणले रोकिँदा भोलि हुन लागेको हो । भोलि कार्यक्रम सम्पन्न गरेर सुरक्षित तरिकाले कुलपति र प्रमुख अतिथिलाई पठाउन पाएमा संस्कृत विश्वविद्यालयको गौरवको कुरा हो । त्यति मात्र नभइ सिंगो दाङको लागि पनि महत्वपूर्ण हुन्छ ।’ यस्तै कार्यक्रममा दीक्षित हुने विद्यार्थीहरूले पनि गौरवको अनुभुति गर्ने उनको भनाइ छ ।

यो कार्यक्रम भएसँगै २०७६ साल सम्मका विद्यार्थीहरूलाई सक्कली प्रमाणपत्र लिन पाउने बाटो खुलेको समेत उनले बताए ।  उनका अनुसार कुलपति एवं प्रधानमन्त्री ‘ प्रचण्ड’को अनुकुल समयमा गत बैशाख १५ देखि बैशाख अन्तिम समयसम्म कार्यक्रम गर्न तयारी रहेको थियो । तर, उहाँको समय व्यस्तताका कारण भोलि हुन लागेको हो ।  

उनले भने,‘ हामीले बैशाख १५ देखि बैशाख मसान्तसम्म समय मिलाउन अनुरोध गरेका थियौँ । तर, उहाँ समय व्यस्तताले गर्दा भोलि गर्न लागेको हो । त्यसको लागि  हाम्रो सबै तयारी  पुरा भएको छ ।’ कार्यक्रममा ५७५ जना विद्यार्थीहरू दीक्षित हुन लागेका छन् ।  बिभिन्न प्राविधिक कारणले गर्दा २०६७ सालदेखि यता कार्यक्रम भएको थिएन ।  

१० वटा शैक्षिक सत्रमा विश्व विद्यालयबाट विद्यावारिधि, आचार्य, शास्त्री, एक वर्षे शिक्षा शास्त्री र बि.एम.एस उत्रिर्ण गरेका ४ हजार ७ सय ७३ मध्य निवेदन दिएका ५ सय ७५ जना विद्यार्थी दीक्षित हुन लागेको हुन् ।  

विद्यावारिधि उपाधि हासिल गरेका १२० जना, आचार्य तह उत्रिर्ण १४५ जना, शास्त्री तह उत्रिर्ण १६३, आयुर्वेद स्नातक उत्रिर्ण ५७ र एक वर्षे शिक्षा शास्त्री उत्रिर्ण गरेका ९० जना दीक्षित हुने विश्वविद्यालयले जनाएको छ ।  २०५४ सालबाट दीक्षान्त समारोह आयोजना गर्दै आएको विश्वविद्यालयले २०६७ सालमा चौथो दीक्षान्त समारोह गरेको थियो । 

यस्तै, विश्वविद्यालयमा दीक्षान्त समारोह हुने भएपछि विश्वविद्यालयको उत्तर तर्फको प्रवेश द्वार देखी पूर्व तर्फको प्रवेश द्वार सम्मको १७२ मिटर सडक कालोपत्रे भएको छ ।  लुम्बिनी प्रदेश सरकारको  १० लाख बजेटमा  ४ मिटर चौडाई र १७२ मिटर लम्बाइ रहेको सडक कालोपत्रे  गरिएको छ ।  
​​​​​​

प्रकाशित मिति : २०८० जेष्ठ ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस