दंगीशरण । दाङको दंगीशरण गाउँपालिका वडा १ को नवनिर्मित वडा भवन तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन गरिएको छ । आइतबार एक कार्यक्रमकाबीच वडा अध्यक्ष रमेश भण्डारीको सभापतित्व, तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यता, गाउँपालिका उपाध्यक्ष पिमा कुमारी खड्का र जग्गा धनी बिष्णुमणि उपाध्यायको विशिष्ट आतिथ्यतामा उक्त भवनको उद्घाटन गरिएको हो ।
नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै वडाअध्यक्ष रमेश भण्डारीले वडाका हरेक काम कुरा गर्न र जनतालाई सेवा प्रवाह गर्न निकै सहज हुने अपेक्षा लिएको बताए । वडा कार्यालयको भवन र आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण गर्न सहयोग गर्ने र जग्गा दाताहरुप्रति धन्यवाद दिएका थिए । आफु जनताको सेवाको लागि आएको बताउँदै आफ्नो वडाका नागरिकको खुसी र सहज सेवा सुविधाका लागी आफु कटिबद्ध रहेको वडाध्यक्ष भण्डारीले बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले सुबिधा सम्पन्न भवनबाट त्यहाँका बिपन्न, दलित बस्तीहरुको आवाजलाई समेटी समानुपातिक तवरले सेवा प्रवाह गरी जनताको सुख अनि दुःख समेट्न सुझाव दिए । गिरीले आफु चुनावी प्रतिबद्धता अनुरुप अगाडी बढिरहेको र भौतिक विकाससँगै मानवीय विकासलाई पनि महत्वका साथ अगाडी बढाएको बताए ।
यस्तै कार्यक्रममा बोल्दै पालिका उपाध्यक्ष पिमाकुमारी खड्काले वडा कार्यालयको भवन निर्माणको लागि जग्गाको खोजी गरी उपयुक्त स्थानमा जग्गा दान गर्ने गुरु बिष्णुमणि उपाध्याय र धर्मपत्नी मलिका देवी उपाध्यायप्रति धन्यवाद दिएकी थिइन् । जग्गाधनी बिष्णुमणि दहालले आफु बोलिभन्दा कर्ममा विश्वास गर्ने ब्यक्ति भएकाले कामलाई प्राथमिकतामा राखी अगाडी बढ्न सुझाब दिइन् । भुमि दान गगर्ने बिष्णुमणि दहाल र उनकी धर्मपत्नीलाईए सम्मान पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा आधारभूत स्वास्थ्य सेवा केन्द्र दंगीशरण वडा १ का स्वास्थ्य संस्था प्रमुख दामोदर शर्मा, वडा नम्बर १ का पूर्व वडाअध्यक्ष श्रीप्रसाद चौधरी, साबिक गोल्टाकुरी गाविसका पुर्व अध्यक्ष यज्ञ बहादुर बिस्ट, वडा नम्बर २ का वडा अध्यक्ष डम्बर खत्री, वडा नम्बर ३ का वडा अध्यक्ष शुक्लाल चौधरी, वडा नम्बर ५ का वडा अध्यक्ष निरज बस्नेत, वडा नम्बर ६ का अध्यक्ष रोशण जंग शाह, प्रशासकिय प्रमुख अधिकृत बिनोद अधिकारीले मन्तव्य राखेका थिए ।
दंगीशरण वडा नम्बर १ का सचिव मन बहादुर खड्काको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण दङ्गीशरण गाउँपालिकाका प्रेश संयोजक प्रमोद आचार्यले गरेका थिए ।


