तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकामा भूमि राष्ट्रिय भूमि आयोगले नाप जाँचको काम सुरु गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६बाट मंगलबारदेखि काम सुरु गरेको हो । राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष लेखराज सिह र तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले उद्घाटन गर्नुभएको हो ।
तुलसीपुर उपमहानगरपालिकाभित्र १३ हजार नौ सय ४१ को लगत प्रविष्टि लिइएको छ । त्यसमध्ये भूमिहिन दलितको दुई हजार ७९,भूमिहीन सुकुम्बासीको दुई हजार आठ सय ९२ र अव्यवस्थित बसोबासीको आठ हजार नौ सय ७९ रहेको छ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले निर्वाचित भएर आएपछि भूमिहीन दलित,सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्ने पहिलो निर्णय भएकाले त्यो विविध प्राविधिक समस्याका कारण एकवर्ष वर्पपछि मात्रै कार्यान्वयनमा आउन थालेको बताउनुभयो ।
उहाँले वडाहरुबाट विगतमा भरिएका फारामको लगत प्रविष्टिमा ढिलाई भएका कारण कार्यान्वयनमा समस्या आएको बताउनुभयो । नगरप्रमुख खड्काले बिचौलियाको प्रभावका कारण वास्तविक भूमिहीन दलित,सुकुम्बासी लालपूर्जा पाउनबाट वञ्चित हुने अवस्था सिर्जना हुन सक्नेभन्दै वडास्तरीय सहजीकरण समितिलाई नाँजजाँचका क्रममा विशेष ध्यान दिएर काम गर्न निर्देशन दिनुभएको थियो ।
तुलसीपुर उपमहानगरपालिकाका वडा नम्बर ६ र १८मा मात्रै लगत प्रविष्टिको काम सम्पन्न भएको छ । २,१४ र ८मा लगत प्रविष्टिको अन्तिम चरणमा रहेपनि अन्य वडाहरुबाट विवरण नै नआएको भूमि शाखाका प्रमुख माधव पौडेलले बताउनुभयो । राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष लेखराज सिहले जिल्लाका अधिकांश पालिकाहरुमा भूमि सम्बन्धी नाँपजाँचको काम सुरु भएको र राप्ती गाउँपालिकामा अन्तिम चरणमा पुगेको बताउनुभयो ।
उहाँले पालिकाबाटै नाँपजाँच अन्तिम प्रक्रिया नै हुने भएकाले नाँपजाँचका क्रममा सहयोग गर्नका लागि आग्रह गर्नुभयो । जिल्लाभर ७६ हजार तीन सय ६ भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको फाराम भरिएको छ ।


