चलचित्र दर्ता गर्ने प्रक्रिया अनलाइनबाटै मिलाउँदै छौँ : प्रवक्ता बुढाथोकी

तुलसीपुर । चलचित्र विकास बोर्डका प्रवक्ता केएल बुढाथोकीले बोर्डमा चलचित्र दर्ताका लागि अनलाइन प्रणाली लागु गर्न लागेको बताएका छन् ।

उनले सानो लगानीको चलचित्र पनि दर्ताका लागि विकास बोर्ड पुग्नुपर्ने बाध्यताको अन्त्य गर्न अनलाइन प्रणाली लागु गर्न लागेको बताए । ‘नयाँ चलचित्र दर्ताका लागि विकास बोर्ड जानुपर्ने बाध्यता अहिले छ ।’ उनले भने ‘अनलाईन प्रणाली लागु गरेर सजिलो बनाउँदै छौँ ।’

चलचित्र पत्रकार सघं दाङ शाखाले शनिवार तुलसीपुरमा आयोजना गरेको स्वागत सम्मान एवं साक्षात्कार कार्यक्रममा प्रवक्ता बुढाथोकीले विदेशीको नक्कल गरेर नेपाली चलचित्र बन्न नसक्ने बताए । उनले नेपाली मौलिक कला, संस्कृतिमा आधारित चलचित्रमात्रै नेपाली चलचित्र हुने बताए ।

नेपाली चलचित्रको विकास र प्रवद्र्धनका लागि आफु निरन्तर लागेको उनले बताए । ‘हामी कला, संस्कृतिका धनि छौँ, ति विषयमा रहेर चलचित्र कम बन्ने गरेको अवस्था छ ।’ उनले भने ‘हरेक विविधतामा चलचित्रको कथावस्तु बन्न सक्छ भने छायाँकनका लागि हिमाल, पहाड र तराई आवश्यक ठाउँ पनि छन् ।’

उनले दाङलाई चलचित्र छायाङ्कनको नगरी बनाउन थुप्रै सम्भावना रहेको समेत बताए । विभिन्न जातजातिको बसोबास रहेको दाङ जिल्लामा स्थानीय भेषभुषा, कला संस्कृति, रहनसहनलाई समेटेर चलचित्र निर्माण गर्न सकेमा दाङलाई अन्तराष्ट्रिय जगतमा चिनाउन सकिने बताए ।

हालै चलचित्र विकास बोर्डको प्रवक्तामा नियुक्त भएका बुढाथोकी लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा घुम्ती सिनेमा तथा सिनेमा साक्षरता अभियान समेत चलाएका छन् ।

चलचित्र पत्रकार सघं नेपाल दाङ शाखाका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका प्रबक्ता माधब वलीले स्थानीय पालिकाले विभिन्न जातजातिको कला संस्कृति संरक्षण गर्नका गर्न लागि केही मात्रामा बजेट बिनियोजन गर्ने गरेपनि चलचित्रको माध्यमबाट ति देखाउने कुराहरुलाई ठोस रुपमा लैजान नसकिरहेको बताए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का अध्यक्ष बिरेन्द्र कुमार शाहले चलचित्र क्षेत्रमा भित्रिरहेका बिकृती विसंगतिलाई रोक्न विकास बोर्डले ध्यान पुर्‍याउनुपर्ने बताए ।

चलचित्र पत्रकार सघं दाङका निवर्तमान अध्यक्ष शिव पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव निरला अर्यालले गरेकी हुन् ।

प्रकाशित मिति : २०८० बैशाख २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस