काठमाडौं । प्रतिनिधिसभा नियमावली २०७९ बहुमतले पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले नियमावली बहुमतले पारित गरेको हो ।
१० माघ २०७९ मा प्रतिनिधिसभाले नियमावली मस्यौदा समिति गठन गरेको थियो । उक्त समितले ६ फागुन २०७९ को बैठकमा नियमावलीको मस्यौदा प्रतिवेदन पेश गरेको थियो ।
प्रतिवेदनउपर सैद्धान्तिक छलफल सकिएपछि विभिन्न राजनीतिक दलका १८ जना सांसदले ६५ वटा संशोधन प्रस्ताव दर्ता गरेका थिए । त्यसमाथि छलफल सकिएपछि प्रतिनिधिसभाको बैठकले नियमावली पारित गरेको हो ।
नियमावली तुरुन्तै लागू हुने व्यवस्था छ । यो सँगै अब संसदीय विषयगत समिति गठन गर्ने बाटो खुला भएको छ । पारित नियमावली अनुसार प्रतिनिधिसभामा १० वटा विषयगत समिति रहनेछ ।
नियमावली पारित भएसँगै विवादित बनेको सभामुखको अधिकार खोस्ने संशोधन फिर्ता भएको छ । यसअघि सत्ता पक्षका केही सांसदहरूले नियमावलीमा सभामुखले गर्ने भनिएका काम कार्यव्यवस्था परामर्श समितिको निर्णयअनुसार मात्र गर्नेछन् भन्ने प्रस्ताव राखेका थिए ।
त्यो संशोधन प्रस्तावको आलोचना भएपछि अन्ततः संशोधन फिर्ता भएको हो ।


