कला र संस्कृतिको जगेर्ना गर्न आवश्यक : मन्त्री थारू

दुधरास । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा यातायत ब्यवस्था मन्त्री इन्द्रजित थारूले थारु समुदायका कला र संस्कृतिहरु लोप हुन लागेको भन्दै कला र संस्कृतिको जगेर्ना गर्न आवश्यक रहेको बताए ।

शनिबार भुइह्यार थान संरक्षण समिति तुलसीपुर-१७ दुधरासको भुइह्यार थान उद्घाटन गर्दै मन्त्री थारुले पश्चिमा संस्कृतिले गर्दा थारु जातीका मुल्य र मान्यताहरुमा ह्रास आएको र यसलाई समयमा नै संरक्षण र सम्बर्द्धन गर्न सकिएन भने भोलिका दिनमा भुइह्यार पुज्ने थान खोज्न र यो परम्परा नै जोखिममा पर्न सक्ने भन्दै यसको संरक्षणमा गाउँ टोल वडा, नगरपालिका मात्रै नभएर राज्य पनि गम्भिर हुनुपर्ने बताए ।

भुइह्यार थानको प्रचलन जतिबेला बिज्ञान र प्रबिधिको सुरुवात भएको थिएन त्यतिबेला ठुला ठुला समस्याहरुबाट मुक्ति पाउनका लागि देउता पुकार्ने, प्रकृतिलाई पुजा गरि मानवीय सभ्यता बचाउनका लागि भुइह्यार पुज्ने प्रचलनको सुरुवात भएको मन्त्री थारुले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश दाङ क्षेत्र नं २ख का सांसद प्रचण्ड बिक्रम न्यौपानेले थारु समुदायक दाङमा मात्रै एक सय ४१ गाउँ हुँदा पनि थारु सभ्यता र थारु संस्कृति दिनानुदिन लोप हुँदै गएकोमा चिन्ता ब्यक्त गरे । त्यस्तै कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरीले थारु संस्कृति र थारु सभ्यताको बिकासका लागि तुलसीपुर उपमहानगरपालिकाले निकै नै चासोका साथ हेरेको र अबको पाँच वर्षमा लोप हुँदै गएका थारु सभ्यतालाई माथि उठाउनका लागि आफुले जतिसक्यो प्रयास गर्ने प्रतिबद्धता ब्यक्त गरिन् ।

कार्यक्रममा थारू मटवा महासंघका केन्द्रीय सदस्य जगबिर चौधरी, मटवा महासंघ दाङका अध्यक्ष चन्द्र बहादुर चौधरी लगायतले थारु समुदायमा भएका समस्या र समाधानका लागि मन्त्री थारुलाई ध्यानाकर्षण गराएका थिए ।

भुइह्यार थान संरक्षण समितिका अध्यक्ष कमल चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात ब्यवस्था मन्त्री इन्द्रजित थारुको प्रमुख आथित्यता एवम् तुलसीपुर उपमहानगरपालिककी उपमेयर स्यानी चौधरीको बिशिष्ठ आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

भुइह्यार थान टोल बिकास संस्थाका उपाध्यक्ष टेक बहादुर चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण भुइह्यार संरक्षण समितिका सचिव मनबिर चौधरीले गरेका थिए ।

प्रकाशित मिति : २०७९ फाल्गुन २० गते शनिवार
प्रतिक्रिया दिनुहोस