बैंक तथा वित्तीय संस्थाविरुद्ध गतिविधि गर्नेमाथि कारबाही हुने

काठमाडौं । बैंक, लघुवित्त, सहकारी लगायत संस्थाविरुद्ध गतिविधि गर्नेमाथि प्रहरीले कारबाही गर्ने भएको छ । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्था र लघुवित्तविरुद्ध आन्दोलन भइरहेको र केही दिनअघि जाजरकोटमा लघुवित्तका कर्मचारीमाथि कालोमोसो दलिएको घटना सार्वजनिक भएपछि प्रहरीले कडाइ गरेको हो ।

आफूले लिएको कर्जा तिर्नुको सट्टा उल्टै वित्तीय संस्था तथा सञ्चालकमाथि भौतिक आक्रमण गर्नेसम्मका धम्की आउन थालेपछि गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीलाई परिपत्र गरेर आपराधिक गतिविधि रोक्न निर्देशन दिएको छ ।

सबै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्र पठाएर गृह मन्त्रालयले बैंक तथा वित्तीय संस्थाको सुरक्षाका लागि चनाखो भएर सुरक्षाको व्यवस्था गर्न र त्यस्तो गतिविधिहरुमाथि निगरानी बढाउन भनेको छ । बैंक तथा वित्तीय संस्थाको ऋण तिर्नु पर्दैन भन्दै गतिविधि गर्नेमाथि अब कारबाही हुने प्रहरीले जनाएको छ । राष्ट्र बैंक र निजी क्षेत्रका बैंकहरुले पनि ऋण तिर्दिनँ भन्नु अराजकता भएको भन्दै यस्ता अराजकता निम्त्याउने काम नगर्न आह्वान गरेका छन् ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंक वित्तीय संस्थाबाट लिएको कर्जा नतिर्ने भन्दै दबाब समूह बनाउनु गलत भएको बताएका छन् । उनले बैंक तथा वित्तीय संस्थाहरुले लगाएको कर्जा बैंक तथा वित्तीय संस्थाहरुको रकम नभएर नागरिकको पैसा भएको बताए ।

दुर्गा प्रसाईँ र एकाध समूहले ऋण नतिर्ने, ऋण उठाउन आए कालोमोसो दल्ने लगायतका अभिव्यक्ति दिएपछि राष्ट्र बैंकले नियमन गर्ने बैंक तथा वित्तीय संस्थाका छाता सङ्गठनले पनि अराजकता निम्त्याउने काम नगर्न आह्वान गरेका छन् ।

प्रकाशित मिति : २०७९ फाल्गुन २० गते शनिवार
प्रतिक्रिया दिनुहोस