कुटेचौर । ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रविधिको प्रयोग र प्रभावकारिता विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयोजना तथा प्रदेशटुडे राष्ट्रिय दैनिक, मिडिया एड्भोकेसी ग्रुप र वडा नं. १९ को सहआयोजना अन्तरक्रिया कार्यक्रम भएको हो ।
महिला बालबालिका शाखा प्रमुख माया श्रेष्ठको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । नवजागरण मावि कुटेचौरमा भएको कार्यक्रममा प्रविधिको प्रयोगका कारण पछिल्लो समय देखिएका समस्या, विकृति विरुद्ध सचेतना तथा प्रविधिको प्रयोगले जीवनस्तरमा ल्याएको सुविधाका बारेमा जानकारी गराइएको थियो ।
प्रहरी सहायक निरिक्षक विष्णु प्रसाद न्यौपानेले साइबर अपराधका बारेमा जानकारीसंगै कानुनी प्रावधानका बारेमा जानकारी दिएका थिए । प्रदेशटुडे राष्ट्रिय दैनिकका सम्पादक गोपाल शर्मा भट्टराइले सामाजिक सञ्जालको प्रयोगमा ध्यानदिनुपर्ने कुराहरु, प्रविधिले मानवीय जीवनमा पुर्याएको सहजता, दुरुपयोगले भएको विकृति र अपराधजन्य घटनाहरुको बारेमा जानकारी गराएका थिए ।
तुलसीपुर उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीले उपलव्ध सेवा सुविधालाई सहि ढंगले सदुपयोग गर्न अनुरोध गरे । उनले बालबालिकाहरुको गतिविधिमा अभिभावकहरुले निगरानी बढाउनु पर्ने बताए ।
त्यस्तै उपप्रमुख स्यानी चौधरी महिला सशक्तीकरणमा जोड दिनु पर्ने बताइन् । उनले समुदायमा महिला समूह गठन गरी महिला सशक्तीकरणका कार्यक्रमहरु सञ्चालन गर्न अनुरोध गरिन् । महिलाको आर्थिक, सामाजिक र शैक्षिक सुधार भएमा समाजमा महिला माथी हुने विभेद र दुर्व्यवहारको अन्त्य हुने उनले उल्लेख गरिन् ।
महिला अधिकारकर्मी सुष्मा गिरीले त्रुटिपूर्ण सामाजिक संरचनाहरु र मुल्यमान्यतालाई सुधार गर्न आवश्यक रहेको उल्लेख गरिन् । वर्तमान अवस्थामा साइबर अपराध बढ्दो क्रममा रहेको भन्दै त्यसतर्फ विशेष सर्तक रहन आग्रह गरिन् ।
विषयवस्तुका बारेमा माया श्रेष्ठले जानकारी गराएकी थिइन् । कार्यक्रमको सहजीकरण उमा भण्डारीले गरेकी थिइन् ।


