दाङ । दाङमा बिहीबारदेखि हात्तीपाइले विरुद्ध औषधि खुवाउन थालिएको छ । जिल्लामा १२ औँ पटक खुवाँउदा पनि लक्ष्यमा पुग्न नसकेपछि १३ औँ पटक खुवाउन थालिएको हो ।
दाङमा सन् २०११ देखि खुवाउन सुरु गरिएकोमा अहिले करिब ५ प्रतिशत नागरिकमा हात्तीपाइले रोगको जीवाणु रहेको भन्दै खुवाउन थालिएको हो । विगतका अभियानहरू पूर्णरुपमा सफल नभएपछि फेरि खुवाउन थालिएको हो ।
दाङमा ६ महिना अगाडि गरिएको सर्वेक्षणमा ५ प्रतिशत नागरिकहरूमा हात्तीपाइले रोगको परजीवी रहेको देखाएको छ । २ प्रतिशत भन्दा कममा नहुँदा सम्म यो औषधि खुवाउनु पर्ने अवस्था रहेको स्वास्थ्यकर्मीहरूको भनाइ छ । शिक्षित भन्दा अशिक्षित व्यक्तिहरूले औषधि खाने गरेको पनि उनीहरूको भनाइ छ ।
दाङका १० वटै स्थानीय तहमा ६ लाख ८७ हजार जनसङ्ख्यालाई औषधी खुवाउन ६६१ स्वास्थ्यकर्मी र स्वास्थ्य खटिएका छन् । पटकपटक हात्तीपाइले निवारणका लागि अभियान चलाए पनि रोग निवारण नभएपछि १३ औँ चरणमा हात्तीपाइले विरुद्धको औषधि खुवाइने स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।
१२ औं पटकसम्म खुवाउँदा असफल भएपछि यसपटक सफल बनाउने लक्ष्य लिएर अभियान चलाएको नगर स्वास्थ्य केन्द्र दोघरेका प्रमुख ईश्वरी प्रसाद चालिसे बताए । सन् २०३० सम्ममा नेपालमा हात्तीपाइले रोग निवारण गर्ने सरकारको लक्ष्य रहेको छ ।
स्वास्थ्यकर्मीहरू यो अभियानलाई सफल बनाउन लागेको भएयता पनि स्वास्थ्यकर्मी तथा स्वयंमसेविकाहरुले नागरिकहरूलाई औषधिको बारेमा बुझाउन नसक्दा लक्ष्य हासिल गर्न नसकिएको तुलसीपुर उपमहानगरका कार्यपालिका सदस्य बसन्ता केसीको भनाइ छ । यता नागरिकहरू भने रोगबाट बच्नको लागि अनिर्वाय रूपमा औषधि खानु पर्ने उनले बताइन् । कसैले यो समेत गरेर १३ औँ पटक औषधि खाएका छन्, भने कसैले ५–६ पटक मात्र खाएका छन् । तर, उनीहरूलाई कुनै समस्या नभएको केसीले बताइन् ।


