तुलसीपुर। दाङको टरिगाउँ एयरपोर्टमा सिता एयरले शुक्रबार दिउँसो परीक्षण उडान गर्ने भनेपछि एयरपोर्टमा तुलसीपुर उपमहानगरका जनप्रतिनिधि, तुलसीपुर उद्योग वाणिज्य संघका पदाधिकारी तथा विभिन्न सरोकारवालाहरू हातमा खाँदा र माला लिएर स्वागतका लागि उभिएका थिए । दिउँसो एक बजेर १८ मिनेटमा नाइन एन– एजेएच कल साइनको सिता एयरको जहाज एयरपोर्टमा अवतरण भएको थियो । दाङबाट काठमाडौँ नेपाल एयरलाइन्सले पनि सेवा दिँदै आएको छ । तर, त्यो सेवा हप्ताको केही दिन मात्र रहेको छ।
दाङ काठमाडौँ नेपाल एयरलाइन्सले हवाइ सेवा दिँदै आएको भएयता पनि नियमित र हवाई भाडा महँगो हुँदा यहाँका नागरिकहरूले सेवा लिन नेपालगन्ज वा भैरहवा जानु पर्ने बाध्यता रहेको छ ।

शुक्रबार निजी हवाई कम्पनी सिता एयरले परिक्षण उडान गरेपछि यो सेवा नियमित हुने र हवाइ भाडामा पनि कमी भएपछि यात्रा गर्न सहज हुने स्थानीय डिल्ली बहादुर रावतले बताए।
त्यस्तै दाङमा हवाइ सेवा नियमित नहुँदा दाङवासीहरू भैरहवा र नेपालगञ्जबाट गइरहेको अवस्थामा सिता एयरले दाङबाट सेवा दिन तयार भएपछि सबैलाई सहज हुने अर्का स्थानीय एकराज आचार्यले बताए ।
तुलसीपुरमा रहेको एयरपोर्टको स्तरोन्नति र नियमित उडानको लागि तुलसीपुर उद्योग वाणिज्य संघले लामो समयदेखि निरन्तर रुपमा लागि परेको र यदि सिता एयरले नियमित उडान गरेमा यात्रुहरू नपाएको खण्डमा आफूहरूले भाडा बेहोर्ने समेत वाणिज्य संघका पूर्वअध्यक्ष विमल रिजालले बताए ।
तुलसीपुर उपमहानगरले पनि यात्रुहरू खोज्ने काम गर्ने र दाङ आउँदा बाहिरको भूमिबाट आउनु पर्ने बाध्यता अन्त्य गर्नको लागि सहयोग गर्ने तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले बताए।
काठमाडौँदेखि दाङ आउनको लागि जम्मा ४५ मिनेट समय लाग्छ । सानो एयरपोर्ट हुँदा जुम्ला, हुम्लामा ल्यान्ड गरेको महसुस भएको र अहिले धान मार्ग करिब २ सय मिटर बढाउन सकेमा विमानले आफ्नो क्षमता अनुसारको सेवा दिने पाइलट रविन्द्र डङ्गोलले बताए।

शुक्रबार परीक्षण उडान भरेको सिता एयरले पहिलो चरणमा हप्तामा एक पटक दाङ काठमाडौँ उडान भर्ने र परीक्षणपछि प्राविधिक समस्या, यात्रु लगायतका विषयमा बोर्डमा छलफल गरेर १० दिनपछि नियमित उडान भर्ने सिता एयरका प्रबन्ध निर्देशक राजेन्द्र बहादुर सिंहले बताए ।
हाल दाङदेखि काठमाडौंको न्यूनतम ८ हजार ८१० रुपैयाँ र काठमाडौंदेखि दाङको भाडा न्यूनतम ९ हजार बढीदेखि अधिकतम १२ हजार भन्दा बढि रहेको छ । ७५० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग छ ।


