काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति चुनावको लागि तयारी थालेको छ । फागुन अन्तिम हप्ता राष्ट्रपतिको चुनाव गर्ने गरी तयारी थालेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । सभामुख र उपसभामुख चयनसँगै दलहरूको ध्यान अहिले राष्ट्रपतिमा केन्द्रित भएको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनावसम्बन्धी ऐनले पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि नै चुनाव गर्नुपर्ने व्यवस्था गरेको छ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी गएको २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा चयन भएकी थिइन् ।
नेपालको संविधान अनुसार राष्ट्रपतिको पदावधि पाँच वर्षको हुन्छ । त्यसअनुसार फागुन २९ गते भित्रै राष्ट्रपति निर्वाचित भइसक्नुपर्ने हुन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसअघि नै राष्ट्रपति, उपराष्ट्रपतिको चुनावका बारेमा निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेका थिए । ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगले मिति तोकेपछि चुनावी गतिविधि र प्रकृया अगाडि बढ्नेछ । अहिलेसम्म आयोगले राष्ट्रपति चुनावको मिति तोकेको छैन ।
सङ्घीय संसद्को सदस्य हुन योग्य भएको, कम्तीमा ४५ वर्ष उमेर पूरा भएको र कुनै पनि कानुनले अयोग्य नभएका व्यक्ति राष्ट्रपतिका लागि उम्मेदवार हुन योग्य हुनेछन् । संविधानले राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिङ्ग वा समुदायको हुनुपर्ने व्यवस्था समेत गरेको छ ।
राष्ट्रपतिको चुनावमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य मतदाता हुन्छन् । त्यसअनुसार राष्ट्रिय सभाका ५९, प्रतिनिधि सभाका २ सय ७५ र प्रदेश सभाका ५ सय ५० गरी कुल ८ सय ८४ जना मतदान गर्न योग्य हुनेछन् ।


