काठमाडौं । आगामी शैक्षिक सत्र २०८० सालदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रमअनुसार पठनपाठन हुने भएको छ । त्यसका लागि पाठ्यक्रम विकास केन्द्रले नयाँ पाठ्यक्रम तयार पारिरहेको छ ।
पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्यालका अनुसार तीन वटा कक्षाका नयाँ पाठ्यपुस्तक तयार भइरहेको छ । नयाँ पाठ्यपुस्तकको प्रिन्ट रेडी कपी (पीआरसी) तयार भएपछि छपाईका लागि जनक शिक्षा सामग्री केन्द्रलाई पठाइने छ ।
अहिले कक्षा ५ र १० का अनिवार्य विषयको नयाँ पाठ्यक्रम अनुसारको पीआरसी तयार भइसकेको र ८ को काम भइरहेको महानिर्देशक अर्यालले बताए ।
कक्षा ५ को पीआरसी भने जनक शिक्षालाई पठाइएसकेको केन्द्रले जनाएको छ । त्यस्तै कक्षा ८ र १० को केही दिन पठाउने तयारी भइरहेको महानिर्देशक अर्यालले बताए । योसँगै विद्यालय शिक्षाका सबै कक्षामा नयाँ पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक लागु हुनेछन् ।
सरकारले २०८० सम्म विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम लागू गर्ने योजना अघि सारेको थियो । सोही आधारमा हरेक शैक्षिक शत्रका विभिन्न कक्षामा नयाँ पाठ्यक्रम लागू गर्दैै आएको छ । आउँदो वर्ष २०८० सालमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने विद्यार्थीले नयाँ पाठ्यक्रमको आधारमा दिनुपर्नेछ । चालू शैक्षिक शत्र २०७९ को परीक्षा नै पुरानो पाठ्यक्रम अनुसारको अन्तिम हुनेछ ।
शैक्षिक वर्ष २०७८ मा कक्षा २, ३, ५ र १२ तथा २०७९ मा कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यक्रम लागू भएका छन् । भने २०८० देखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम लागु हुनेछ ।


