थापाथलीको सुकुम्बासीबस्ती तनावग्रस्त

काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन काठमाडौं महानगरपालिकाले डोजर चलाउने भएपछि थापाथलीका सुकुम्बासीहरूले विरोध प्रदर्शन गरेका छन् । बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि स्थानीयबासिन्दाले घरेलु हतियारसहित प्रतिकार गर्नुका साथै चर्को नाराबाजी गरेका छन् ।

उनीहरुले घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएका सुकुम्बासीबस्तीका स्थानीयले गृहमन्त्रीविरुद्ध पनि चर्को नाराबाजी गरेका छन् । महानगरपालिकाले डोजर चलाउन भनेपछि थापाथलीस्थित बागमती किनारमा बस्दै आएका सुकुम्बासीहरू घरेलु हतियारसहित विरोधमा उत्रिएका हुन् । उनीहरूले टायर बालेर महानगरविरूद्ध प्रदर्शनसमेत गरेका छन् । 

सोमबार महागरपालिकाको डोजर चलाउने तयारी गरेको थियो । सुकुम्बासी बस्तीमा प्रतिरोध भएपछि महानगरको डोजर त्यतिकै फर्किएको थियो । सुकुम्बासीहरूले प्रतिकार गरेपछि थापाथली क्षेत्र केहीबेर तनावस्त भएको थियो ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले काठमाडौंमा निर्माण गरिएका अवैध संरचना हटाउने अभियान चलाइरहेका छन् । बागमती किनारमा सुकुम्बासीका नाममा सार्वजनिक जग्गा कब्जा गरेर घर तथा संरचनासमेत निर्माण गरिएको छ । 

एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिर (चुनावकै दिन)सम्म अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरेको थियो । समितिले सूचना जारी गर्दै नदी किनारामा अनधिकृत रूपमा निर्माण भएका घरटहरा तथा निर्माण सामग्री र सवारी साधनहरू हटाउन ४ मंसिरसम्मको समयसीमा दिएको थियो ।

सुकुम्बासीहरुले भने विकल्प नदिई आफूहरु सो बस्तीबाट नहटने जिकीर गरिरहेका छन् । उनीहरूले डोजर चलाउने डरले सामान भने बाहिर निकालेका छन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस