सुर्खेत । २०७४ सालको निर्वाचनमा कर्णालीका १२ मध्ये ६ क्षेत्रमा जित हाँसिल गरेको नेकपा एमाले यसपटक शून्यमा झरेको छ । कर्णालीमा हालसम्म प्रतिनिधिसभाको नौ वटा निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । कालीकोट, हुम्ला र मुगुमा मतगणना जारी छ ।
मतगणना जारी रहेका स्थानमा पनि एमाले उम्मेदवार फराकिलो अन्तरले पछाडि छन् । कांग्रेसले सुर्खेतका दुईवटै र दैलेख क्षेत्र नम्बर २ मा जित निकालेको छ । मुगुमा पनि फराकिलो मत अन्तरले अग्रता लिएको छ ।
नेपाली कांग्रेसबाट सुर्खेत–१ मा पार्टी उपसभापति पूर्णबहादुर खड्का, सुर्खेत–२ मा हृदयराम थानी र दैलेख–२ मा दिक्पाल शाही निर्वाचित भएका छन् । मुगुमा जारी मत गणनामा भने कांग्रेसकै उम्मेदवार ऐनबहादुर शाहीले अग्रता लिएका छन् ।
माओवादी केन्द्रले जाजरकोट र रुकुम पश्चिममा जित निकालेको छ भने कालीकोट र हुम्लामा फराकिलो मतान्तरले अग्रता लिएको छ । रुकुम पश्चिममा अर्थमन्त्री समेत रहेका जनार्दन शर्मा र जाजरकोटमा शक्ति बस्नेत निर्वाचित भए । कालीकोट र हुम्लामा माओवादी केन्द्रका उम्मेदवार क्रमशः महेन्द्रबहादुर शाही र छिरिङ डम्डुल लामा फराकिलो मतान्तरसहित अग्रता बनाइरहेका छन् ।
एकीकृत समाजवादीबाट दैलेख–१ मा अमरबहादुर थापा, सल्यानमा प्रकाश ज्वाला र डोल्पामा धनबहादुर बुढाले जितेका छन् । त्यस्तै जुम्लामा राप्रपाका ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही निर्वाचित भएका छन् ।
२०७४ सालमा एक्लै प्रतिस्पर्धा गरेको कांग्रेसले यसपटक नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको सहयोगमा चुनाव लडेको छ ।


