तुलसीपुर । दाङको तुलसीपुरमा रगत अभाव देखिएको छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुर परिसरमा रहेको कालिकादेवी रक्त सञ्चार केन्द्रमा रगत अभाव रहेको छ ।
चाडपर्वको समयमा रक्तदानको कार्यक्रम नभएकाले उक्त रक्त सञ्चार केन्द्रमा बुधबार एउटा मात्रै रगत थियो । रक्तसञ्चारका प्रमुख नरेश चौधरीका अनुसार चाडपर्वमा रक्तदान गर्ने कार्यक्रम भएन, सोही समयमा रगत माग गर्ने विरामी आउँदा रगत अभाव भयो ।
केन्द्रमा रगत अभाव भएपछि बुधबार दिउँसो मात्रै २७ जनाले रगतदान गरेका छन् । नेकपा (बहुमत) पार्टीका पदाधिकारीहरुले रगतदान गरेपछि मात्र रगतको आपूर्ति भएको थियो ।
रगत अभाब भएपछि आफूहरुले रक्तदान कार्यक्रम आयोजना गरेको पार्टीका नेता अमर खड्काले बताए । रक्तदान गर्नेमा नेकपा बहुमतका दाङ जिल्ला संयोजक बिरेन्द्र बिक, कार्यालय सचिव अमर खड्कासहित २७ जना रहेका थिए । जसबाट २७ प्वाइन्ट रगत संकलन भएको छ, हाल सबै भन्दा धेरै ‘बी पोजिटिभ’ रगतको माग रहेको छ ।
रगत अभाव भइरहेको भन्दै रक्तदान गरिदिनका लागि केन्द्रले विभिन्न व्यक्ति तथा समाजिक संस्थाहरुलाई रक्तसंचार केन्द्र तुलसीपुरले अनुरोध गरेको छ । ।


