तुलसीपुर । राप्ती बबई क्याम्पसमा अहिले करीव ४५ सय विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । पश्चिम दाङकोे शिक्षाको गहनाका रुपमा स्थापित भएको सो क्याम्पसमा तीन संकाय हाल सञ्चालनमा छन् । त्यसमा जम्माजम्मी ५६ जनाले रोजगारी पनि पाएका छन् । जुन क्याम्पस स्थापनाका सुत्रधार थिए, दिपक गिरी । जो अहिले संघिय निर्वाचन क्षेत्र नम्बर ३ का प्रत्यक्ष तर्फका उम्मेदवार बनेका छन् ।
दिपक गिरी विद्यार्थी राजनीति गर्ने क्रममा त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा विद्यार्थी राजनीतिमा सक्रिय थिए । शंकर पोख्रेलले पनि त्यहीँ विद्यार्थी राजनीति गर्थे । भर्खरै बहुदल आएकाले निर्वाचन क्षेत्र निर्धारण गरिएको थिएन, सायद दुवै विद्यार्थी नेता पश्चिम दाङका । किर्तिपुर क्याम्पसको स्ववियु सभापतिमा लड्ने प्रतिस्पर्धि पनि उनै थिए ।
बहुदल आएपछि शैक्षिक संस्था विस्तार गर्न पर्छ भन्ने पनि अवधारणा सरकारले ल्यायो । त्यो बेला राप्तीमा महेन्द्र बहुमुखी क्याम्पस र सायद प्युठान जिल्लाको पुण्य खोलामा मात्र क्याम्पस थियो । घोराहीमा महेन्द्र बहुमुखी क्याम्पस भएपछि तुलसीपुर लगायत पश्चिम दाङ र सल्यान रुकुमका विद्यार्थीलाई पढ्नका लागि घोराही पुग्नुको विकल्प थिएन । तुलसीपुर—घोराही पनि सहज यातायात सेवा थिएन, दिनमा एक दुई वटा सार्वजनिक बस मात्रै सञ्चालन हुने । त्यो बेला घोराहीमा पढ्न जानु भनेको डेरा गरेर मात्रै सम्भव थियो ।
डेरा गर्नुपर्ने कारण धेरै छात्राहरुले क्याम्पस शिक्षा हाप्नु परेको थियो, जब राप्ती बबई क्याम्पस सञ्चालनमा आयो, यस क्षेत्रमा महिलाहरुलाई उच्च शिक्षाका लागि धेरै राहत मिलेको थियो’—तुलसीपुरका पुराना नेता गोपिनाथ योगीले भने । उनले क्याम्पस सञ्चालनको मूल भूमिका दिपक गिरीलेनै खेलेको स्मरण गरे ।
त्यो बेला सामुदायिक क्याम्पस सञ्चालन गर्न त्रिविविमा कम्तिमा ६ लाख रुपैया धरौटी राख्नु पर्थ्यो । त्यो पैसा जुटाउने हैसियत त्यो बेलाको तुलसीपुरसँग थिएन । किनकि तुलसीपुर अहिले जस्तो बजारमा परिणत भएको थिएन । घोराही—तुलसीपुर यातायातका लागि दिनमा एक दुई वटा बस मात्रै चल्थे ।
विद्यार्थी नेता गिरी पटक पटक घर फर्कदा जहिल्यै पनि तुलसीपुरमा क्याम्पस खोल्ने माग स्थानीयबाट हुन्थ्यो । त्यहीँ आग्रहलाई गिरीले आत्मसात गरेका थिए । किर्तिपुरमा विद्यार्थी राजनीति गर्दा उनको गहिरो सम्बन्ध त्रिविविका उपकुलपति प्राध्यापक वाशुदेव चन्द्र मल्लसँग थियो । त्यहीँ सम्बन्धका कारण बिना धरौटी क्याम्पस सञ्चालनको अनुमति दिलाइएको थियो । क्याम्पस सञ्चालनको अनुमति पाएपछि विद्यार्थी नेता गिरी सो क्याम्पसको सञ्चालक समितिको अध्यक्ष समेत बने । क्याम्पस सञ्चालन समितिको संरक्षकका रुपमा त्यो बेलाका व्यवसायी एवं समाजसेवी इन्द्र बहादुर क्षेत्री रहेका थिए ।
राप्ती बबई क्याम्पस अर्थात् दिपकले बालेको शिक्षाको दियो हो । स्थापनाको बर्ष २ सय ७० विद्यार्थी पढाएको सो क्याम्पसले अहिले कम्तिमा ४ हजार भन्दा विद्यार्थीहरुलाई विभिन्न संकायमा अध्यापन गराइरहेको छ । मानवीकी, व्यवस्थापन र शिक्षा संकायमा अध्यापन गराइरहेको सो क्याम्पस पश्चिम दाङको गहना पनि हो । उम्मेदवार गिरी भन्छन्, ‘यो क्याम्पसलाई पुस्तौंसम्म समयसापेक्षा बिक्ने संकाय थप्दै उदयमान बनाउँदै लैजाने छु ।’ क्याम्पसमा आधुनिक विधाका शिक्षाको व्यवस्थापन गर्न आफुले संस्थापकको नाताले अझै प्रयास गर्ने पनि गिरीको अभिव्यक्ति थियो ।


