तुलसीपुर । दाङको बबई नदीमा नुहाउ गएका दुई किशोरी डुवेर वेपत्ता भएका छन् । शनिबार दिउँसो पौने २ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ र दंगीशरण गाउँपालिका वडा नं. २ को सिमानामा पर्ने बबई नदीमा नुहाउने क्रममा उनीहरु डुवेर वेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा दंगीशरण गाउँपालिका वडा नं. २ सिमलबुना निवासी अन्दाजी १६ वर्षीया रमा शाही र सल्यान दमाचौर घर भई दंगीशरण २ स्थित मामा घर आएकी अन्दाजी १५ वर्षीया गोमा चन्द रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए ।
बेपत्ता भएका किशोरीहरुसँगै नुहाउन गएकी सोही ठाउँकी १३ वर्षीया निरुता बस्नेतले जानकारी गराएपछि उनीहरुको खोजीकार्य भइरहेको प्रहरी निरिक्षक केसीले बताए ।
केसीका अनुसार अहिले प्रहरी चौकी जस्पुर, प्रहरी चौकी गोल्टाकुरी, ईलाका प्रहरी कार्यालय तुलसीपुर र स्थानीयहरुको संयुक्त टोलीले बेपत्ताको खोजी कार्य जारी राखेको छ ।


