गाडिएको अवस्थामा दुई किशोरकिशोरीको शव फेला

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ दमारगाउँको जंगलमा दुई वटा गाडिएको अवस्थामा शव फेला परेको छ ।

तुलसीपुर उपमहानगरपालिका-१३ दमारगाउँको जंगलमा स्थानीय १५ वर्षीया रोशनी महतरा क्षेत्री र दंगीशरण गाउँपालिका वडा नं. ६ थपगाउँका १४ वर्षीय शरद आचार्यको शव गाडेको अवस्थामा आइतबार दिउँसो फेला परेको हो।

प्रहरीका अनुसार असोज २७ गते रातिदेखि उनीहरु बेपत्ता भएका थिए। डिएसपी मल्लले असोज २८ गते आचार्यको हजुरआमा आएर प्रहरीमा नाती हराएको भन्दै खोजी गरिदिन आग्रह गरेकी थिइन्।

घर परिवारले सुरूमा उनीहरु प्रेममा परि भागेको हुनसक्ने आशंका गर्दै आएका थिए।

इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लका अनुसार उनीहरुको हत्यापछि कसैले खाडलमा गाडेको हुनसक्ने बताए।

उनीहरु दुबै जना स्थानीय अम्बापुर माविमा कक्षा ९ मा अध्यनरत थिए। अधिकारी दमार गाउँमै मामा घरमा बसेर अध्ययन गर्दै आएका थिए।

जंगलमा बस्तु चराउन गएका स्थानीयले गन्ध आएपछि नियालेर हेर्दा खाडलमा गाडेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

घटनाबारे अनुसन्धान जारी रहेको उनले बताए।

प्रकाशित मिति : २०७९ असोज ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस