लागु औषध दुर्व्यसन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

बिजौरी। लागु औषध तथा मादक पदार्थ दुर्व्यसन सम्बन्धी एक दिने अभिमुखीकरण सचेतना कार्यक्रम आज(बुधबार) बिजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयको सभाहलमा सम्पन्न भएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख प्रशासकीय अधिकृत टंकराज गौतमको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा बोल्ने बक्ताहरुले समाजलाई दुर्व्यसन मुक्त बनाउँन घरभित्रबाट नै सुरुवात गर्नुपर्ने बताएका थिए । घरमा अभिभावकले छोराछोरीलाई कसरी हुर्काउदै छन् भन्ने कुराले बढी प्रभाव पर्ने भन्दै घरभित्रको संस्कारले छोराछोरीहरुप्रति गरिने ब्यवहार, सँस्कारमा विषेश भूमिका खेल्नुपर्ने उनीहरुको भनाइ थियो ।

बालबालिकाहरुलाई उचित शिक्षासँगै बढ्दो उमेरमा बिशेष ख्याल गर्नुपर्ने उनीहरुको धारणा थियो । कार्यक्रममा युवासंघका अध्यक्ष अरुण लहरे, महिला मानव अधिकारकर्मी शुष्मा गिरी लामिछाने, मनोपरामर्शदाता तथा नयाँ पाइलाका उपाध्यक्ष शैलेस शर्मा लगायतले आआफ्नो भनाइ राखेका थिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख तथा डिएसपी राजन गौतमले लागुऔषध के हो ? दुर्व्यसनीका कारण, लक्षण, लागु औषध सेवन गर्ने तरीका, प्रकार, लागु औषध नियन्त्रणका लागि कानुनी प्रावधान, नियन्त्रणका प्रमुख पक्षहरु लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

डिएसपी गौतमले दिएको जानकारी अनुसार २०७६/०७७ मा ३४ वटा मुद्धा दर्ता भएको थियो । जसमा विभिन्न लागु औषध सहित ६५ जना पुरुष र ८ जना महिला पक्राउ परेका थिए । यस्तै २०७७/०७८ मा ३९ वटा मुद्धा दर्ता भएकोमा विभिन्न ब्राउन सुगर सहित ६८ पुरुष र ७ जना महिला पक्राउँ परेका थिए । यस्तै २०७९/०८० मा १७ वटा मुद्धा दर्ता भएकोमा विभिन्न लागु औषध सहित २८ पुरुष र ४ जना महिला पक्राउ परेका छन् ।

जिल्ला प्रशासन दाङको आयोजना तथा नयाँ पाइला पुनस्थापना केन्द्र बिजौरीको ब्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको हो । अभिमुखीकरण कार्यक्रममा सृजना मा.वि. र लिटिल फ्लावर मा.वि तुलसीपुरका विद्यार्थी, शिक्षक, नगर युवा, वाल संजाल, सामाजिक संघ संस्थाका प्रतिनिधि, पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण तुलसीपुर उपमहानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख माया श्रेष्ठले गरेकी थिइन ।

प्रकाशित मिति : २०७९ असोज २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस