तुलसीपुर । दाङको तुलसीपुर स्थित टरिगाउँ विमानस्थल विस्तारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ सहितको टोलीले स्थलगत अवलोकन गरेको छ । यहाँ ७२ सिटे जहाज बसाल्नका लागि अहिलेको धावनमार्गलाई विस्तार गर्न आवश्यक रहेको भन्दै यसको अवस्था बुझ्न आएको मन्त्री श्रेष्ठले बताए ।

विहीबार स्थलगत अवलोकनमा सहरी विकास मन्त्री मेटमणी चौधरी, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसी, नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीलगायतका उपस्थित भएका थिए ।
आफूहरुले स्थलगत अवलोकन तथा अध्ययन गरेपछि केही समयमा सर्वे गर्नका लागि टोली आउने मन्त्री श्रेष्ठले बताए । सर्वेका लागि नागरिक उड्ययन प्राधिकरणको टोली आउने छ र सम्भव भए दशै अगाडी नै आउने गरि तयारी गरिएको उनको भनाई थियो ।

अवलोकन टोली आएर यहाँको पूर्ण सर्वे गर्ने प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले बताए । यस क्षेत्रका नेताहरुले प्रभाबकारी भूमिका नखेल्दा पनि यो एयरपोर्ट विस्तार हुन नसकेको सहरी विकास मन्त्री मेटमणी चौधरी बताए ।
त्यस्तै आफू शक्तिमा हुँदा सबैले भूमिका निर्वाह गरे यो एयरपोर्टमा ठूला जहाज बस्ने गरि स्तरबृद्धि भइसक्ने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले बताए ।
इञ्जिनियरहरुको प्रारम्भीक अध्ययन अनुसार एयरपोर्टको धावनमार्ग विस्तारका लागि दक्षिणतर्फ करिब ६१ विघा जग्गा आवश्यक पर्छ । अहिले एयरपोर्टकै ४० विघा जग्गा छ, भने कपास विकास समितिको ४ विघा जग्गा रहेको छ । बाँकी जग्गा स्थानीयको अधिग्रहण गर्नुपर्ने अवस्था रहेको छ ।

अहिले एयरपोर्टको धावनमार्ग ७५० मिटर रहेको छ । एयरपोर्टलाई विस्तार गरी १५०० मिटर बनाउन सकिन्छ । तुलसीपुर उपमहानगरपालिकाले उपप्रमुख स्यानी चौधरीको संयोजकत्वमा समिति समेत गठन गरेको छ । सोही समितिको संयोजक भएपछि चौधरीले पनि यसमा चासो देखाएकी छिन् ।
अहिले एयरपोर्टमा हप्तामा तीन दिन मात्रै उडान हुने गरेको छ । नेपाल बायु सेवा निगमका दाङ स्टेशन म्यानेजर महेन्द्र शर्माका अनुसार हाल बुधबार, विहीबार र शुक्रबार मात्रै फ्लाईट हुने गरेको छ । यस अघि दैनिक हवाई सेवा थियो ।
अहिले दाङ – काठमाडौं हवाई भाडा न्यूनतम भाडा ८ हजार ८ सय १० छन्, भने अधिकतम १२ हजार ६ सय ६५ रहेको छ । काठमाडौं भन्दा दाङ आउँदा भने त्यसको दुई सय रुपैँया बढी हुन्छ ।


