तुलसीपुर र घोराहीमा आज गठबन्धन दलहरुको बृहत्त चुनाबी सभा

तुलसीपुर । पाँच दलीय गठबन्धन दलहरुले आज दाङको तुलसीपुर र घोराहीमा बृहत्त चुनाबी सभा गर्ने भएको छ । तुलसीपुरको अरनिको मैदान र घोराहीको जिल्ला समन्वय समितिको मैदानमा चुनाबी सभा गर्न लागिएको छ ।

तुलसीपुर र घोराहीमा हुने चुनाबी सभाहरुलाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड), काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा एकीकृत समाजवादीका उपमहासचिब डा. बिजय पौडेल लगायतका शीर्ष नेताहरु आउन लागेको जानकारी दिइएको छ ।

तुलसीपुरको अरनिको मैदानमा दिउँसो साढे १२ बजेदेखि सुरु हुने आयोजक नेपाली काँग्रेस दाङका सभापति शंकरप्रशाद डाँगीले जानकारी दिए । तुलसीपुरको कार्यक्रमपछि नेताहरु घोराहीको सभालाई सम्बोधन गर्ने जाने सभापति डाँगीले बताए ।

त्यस्तै कार्यक्रमका लागि मञ्च निर्माणको काम अन्तिम चरणमा पुगेको मञ्च व्यवस्थापन समितिका संयोजक घनश्याम भण्डारीले जानकारी दिए ।

गठबन्धन दलबाट तुलसीपुर उपमहानगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी र उपमेयर पदमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य जोगबहादुर राना मगर उम्मेदवार रहेका छन् ।

त्यस्तै घोराही उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रका हेमराज शर्मा (डायमण्ड) मेयर पदमा र नेपाली काँग्रेसका नेता भुपबहादुर डाँगी उपमेयर पदका उम्मेदवार बनाइएका छन् ।

प्रकाशित मिति : २०७९ बैशाख २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस