तुलसीपुरमा शालिक सहितको विरेन्द्र चौक

तुलसीपुर । स्थानीय सरकारको निर्णय र नागरिक सहयोगको संयोजनले तुलसीपुरको विरेन्द्र चौकमा स्वर्गीय राजा विरेन्द्रको शालिक राखिएको छ । शालिक राख्ने समयमा स्वस्फुर्त रुपमा सयौं तुलसीपुरबासीको उत्साहपूर्ण सहभागिता देखिएको छ ।

सोमबार साझ चौकमा शालिक राखिदा सयौंले मोवाइलमा सो दृश्यको कैद गरिरहेका देखिन्थे । ‘शालिक भत्काउनुनै गलत थियो, तर अहिले वडा सरकारको पहलमा शालिक राखेर इतिहासकै सम्मान भएको छ’—मोवाइलमा भिडिओ बनाउदै गरेका एक जना स्थानीयबासीले भने । उनको भनाइले शालिक राख्दा इतिहास व्युझाउने र नाम सहितको चोकले वटुवालाई समेत सहज रुपमा पहिचान मिल्न सक्ने छ ।

शालिक अनावरणका क्रममा केहीले राजा विरेन्द्र अमर रहुन्, राजा विरेन्द्र प्रजातन्त्रवादी राजा थिए, राजा विरेन्द्रमा देशभक्तिको अतुलनीय माया थियो जस्ता अभिव्यक्तिहरु दिइरहेका थिए । सुरक्षाकर्मीहरुको बाक्लो उपस्थितिबीच शालिक अनावरण कार्यक्रममा सहभागी राप्रपा नेता कार्यकर्ताहरुले राजा आउ देश बचाउ जस्ता नारा समेत लगाएका थिए । उनीहरुले राजा विरेन्द्रलाई राष्ट्रियता राष्ट्रिय अखण्डता र हिन्दु राज्यका अभियन्ताका रुपमा पनि चित्रण गरेका थिए ।

‘विरेन्द्र चौकमा शालिक राख्नका लागि स्थानीय सरकार तुलसीपुर उपमहानगरपालिका—५ ले विधिवत् निर्णय गरी कार्यपालिका बैठकबाट समेत यो निर्णयको अनुमोदन यस अघिनै गराएको थियो’, विशुद्ध रुपमा नागरिक चाहनालाई सम्वोधन गर्न शालिक अनावरणको अगुवाइ गरेका हौं’, शालिक अनावरण कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका—५ का वडाध्यक्ष विरेन्द्र शाहले भने ।

उनले यसमा नागरिकहरुको स्वस्फुर्त सहयोग जुटेको र केही दिनमा सबै खर्च विवरण सार्वजनिक गर्ने र शालिकको संरक्षणका साथै थप फिनिसिङमा पनि वडाले सहयोग गर्ने प्रतिवद्धता जनाए । शालिक निर्माण र अनावरणका लागि हालसम्म करिव २ लाख रुपैया जति अनुमानित खर्च भएको वडाध्यक्ष शाहले बताए । शालिक काठमाडौंमा निर्माण गरिएको थियो ।

शालिक सहितको चोक बनेपछि अन्य स्थानबाट तुलसीपुर आउने जो कोहीलाई पनि विरेन्द्र चोकको पहिचान गर्न सहज हुने वडा कार्यालयले जनाएको छ । तत्कालिन बिद्रोही शक्ति माओवादीले २०६२/०६३ को आन्दोलनको समयमा तुलसीपुरको बीरेन्द्र चोकमा रहेको राजा बीरेन्द्रको शालिक तोडफोड गरेका थिए ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का वडाध्यक्ष बीरेन्द्रकुमार शाहले आफ्नो कार्यकाल सकिनै लाग्दा राजा बीरेन्द्रको शालिक स्थापना गरी इतिहासलाई सम्मान गरेको तुलसीपुरबासीहरुले बताएका छन् । शालिक अनावरणका सन्दर्भमा कहिकतैबाट औपचारिक रुपमा विरोध समेत नआएकाले यो काम नितान्त सौहार्दपूर्ण रुपमा सम्पन्न भएको भन्दै वडाध्यक्ष शाहले सबैलाई धन्यवाद दिएका थिए ।

यसअघि सो चोकमा राजा विरेन्द्रको पूर्णकदको शालिक भए पनि हाल सो चोकमा अर्घकदको शालिक राखिएको हो । शालिक नरहेपनि सो चोकको शालिक राख्ने स्थलको संरक्षण वडा कार्यालयलेनै गर्दै आएको थियो । दाङमा राजा महाराजाका भत्काइएका शालिक पुर्नस्थापना गरिएको सम्भवतः यो पहिलो हो । नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष शाहकै नेतृत्वमा २०७५ सालमै शालिक रहेको ठाउँको मर्मतको काम भएको थियो । त्यसपूर्व नै वडाध्यक्ष फोडिएको राजा बीरेन्द्रको शालिक पुनः स्थापना गर्ने घोषण गरि सकेका थिए।

प्रकाशित मिति : २०७८ चैत्र १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस