संस्कृत/आयुर्वेदलाई थलाएर स्थापत्यशास्त्र

बिजौरी । करिव एक दशक अघि निकै उत्साहका साथ थालिएको आयुर्वेद अध्ययन संस्थान अन्तर्गतको आयुर्वेद चिकित्साको स्नातक तह९विएएमएस० र प्रमाणपत्र तहको संस्कृत शिक्षालाई थला पारेर नेपाल संस्कृत विश्वविद्यालयले फेरी नयाँ विषय इन्जिनियरिङ तर्फको स्थापत्यशास्त्रको अध्ययन प्रस्ताव गरेको छ । विश्वविद्यालयको ७४औं सिनेटसभाबाट यसको स्वीकृति प्राप्त भएको विश्वविद्यालयका अधिकारीहरुले बताएका छन् ।

स्थापत्यशास्त्र अहिले चलेको जनरल इन्जिनियरिङसँगै घडि, पला र वास्तुशास्त्र समेतको अध्ययन गर्ने चार वर्षे इन्जिनियरिङ कोर्ष हो । यसको पाठ्यक्रम समेत निर्माण भैसकेको विश्वविद्यालयले जनाएको छ । यसका लागि नेपाल संस्कृत विश्वविद्यालयको माताहतमा आयुर्वेद अध्ययन संस्थान जस्तै इन्जिनियरिङ अध्ययन संस्थान समेत गठन गरेर डीन समेत नियुक्ति भैसकेको विश्वविद्यालयले जनाएको छ । नेपाल संस्कृत विश्वविद्यालयले आयुर्वेद चिकित्सामा स्नातक तहसँगै इन्जिनियरिङमा पनि पाइला अघि बढाउनु नितान्त सराहनीय भए पनि चल्दै आएका शिक्षालाई थलापारेर नयाँ शिक्षाका नाममा भौतिक संरचना र जनशक्तिको भिडभाड लगाउनुलाई भने आश्चर्यजनक मानिएको छ । यसअघि पनि नेपाल संस्कृत विश्वविद्यालयले बैदिक कृषिको पठनपाठन गर्ने कार्यक्रम प्रस्ताव गरेको थियो । तर त्यो अझैसम्म पनि कार्यान्वयनमा आउन सकेको छैन ।

‘भएका÷चलेका कार्यक्रमलाई सफलतापूर्वक निरन्तरता दिंदै नयाँमा अभ्यास गर्नु स्वाभाविक हो, तर आयुर्वेद चिकित्सा विएएमएसलाई धरापमा पारेर फेरी इन्जिनियरिङमा प्रवेश गर्नु भने आश्चर्यजनक र स्वार्थ प्रेरित कार्यक्रम हो’–नेपाल संस्कृत विश्वविद्यालयकै एक अधिकारीले भने। विश्वविद्यालयले आठौं व्याचसम्म चलाइरहँदा विएएमएस कक्षा अर्थपूर्ण र उपलव्धिमुलक बन्न सकेको छैन । नियमित पठनपाठनका लागि अझैसम्म पनि शिक्षण अस्पताल निर्माण हुन सकेको छैन । विद्यार्थीलाई प्रयोगात्मक अभ्यासका लागि प्रयोगशाला सञ्चालनमा आउन सकेको छैन भने जनरल ओपिडि सेवा समेत सञ्चालनमा ल्याउन विश्वविद्यालय प्रशासन असफल भएको छ । आयुर्वेद चिकित्सा क्षेत्रका अधिकारीहरुले यसलाई विश्वविद्यालय केन्द्रीय प्रशासनको वदनीयतपूर्ण भनेका छन् । आयुर्वेद स्नातकका लागि एक जना विएमएलटीको दरबन्दीमा कर्मचारी भर्ना गर्नका लागि समेत विश्वविद्यालय सेवा आयोगले स्वीकृति प्रदान गर्न सकेको छैन । यो भद्रगोल अवस्थाले ५ वर्षमा सकिने विएएमएस कोर्ष ८ वर्षसम्म लाग्ने गरेको छ भने विद्यार्थीहरुलाई प्रयोगात्मक अभ्यासका लागि शिक्षण अस्पतालनै निर्माण हुन नसक्दा उत्पादन भएको जनशक्तिको विश्वासमै संकट उत्पन्न हुने अवस्था देखिएको छ ।

त्यसैगरेर यतिधेरै नयाँ कार्यक्रम ल्याउन जानेका पदाधिकारीहरुले संस्कृत शिक्षाको भने उपहास गर्न थालेको संस्कृतप्रेमी प्राध्यापकहरुले गुनासो गर्दै आएका छन् । दश कक्षाभन्दा माथिको पढाइमा संस्कृत विषयमा अध्ययन गर्ने जनता संस्कृत माविमा विश्वविद्यालयले केही अनुदान उपलव्ध गराउँदै आएको थियो । यही अनुदानले सो विद्यालयले दाङका मात्र नभएर जाजरकोट, रुकुम र सल्यानसम्मका विद्यार्थीलाई छात्रवृत्ति उपलव्ध गराएर प्रमाणपत्र तहसम्म उत्तीर्ण गराउँदै आएका थिए । यिनै विद्यार्थीहरु माथिल्लो कक्षामा पढ्नका लागि नेपाल संस्कृत विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा जान्थे । तर तलबाटै विद्यार्थीहरुलाई संस्कृत पढ्नबाट बञ्चित गराउन नेपाल संस्कृत विश्वविद्यालय प्रशासनले जनता संस्कृत विद्यालयलाई दिंदै आएको अनुदान समेत केही वर्ष अघिदेखि कटौति गरेकोमा सो विद्यालयले आपत्ति पनि जनाएको छ ।

नेपाल संस्कृत विश्वविद्यालयमा स्थापत्यशास्त्र अध्ययनका लागि विश्वविद्यालय सभाबाट स्वीकृत भएको छ । विश्वविद्यालय सभाको ७४ औ बैठकबाट नेपाल संस्कृत विश्वविद्यालयमा स्थापत्यशास्त्र९इन्जिनिरिङ०को अध्ययनका लागि स्वीकृत भएको हो । विश्वविद्यालयमा संस्कृततर्फ विद्यार्थीहरुको संख्या घट्दै गएपछि थप आकर्षणका लागि नयाँ विषय पठनपाठन शुरु गर्न थालेको हो ।

स्थापत्यशास्त्र अध्ययनका लागि नास्टका पूर्व उपकुलपति जीवराज पोख्रेलको संयोजकत्वमा पाठ्यक्रम तयार पार्न थालेको छ । विश्वविद्यालयका कुलसचिव सहप्राध्यापक माधव अधिकारीले पाठ्यक्रम निर्माण समितिले एक हप्ताभित्रै विश्वविद्यालयले प्राप्त गर्ने र प्राज्ञिक परिषद्बाट स्वीकृत भएर इन्जिनिरिङ काउन्सिलमा पढाइ हुने बताउनु भएको छ । काउन्सिलबाट स्वीकृत भएपछि विश्वविद्यालयले कक्षा सञ्चालन गर्ने छ । तर यसका लागि भौतिक पूर्वाधार निर्माण, प्राध्यापक भर्ना लगायतका थुप्रै काम भने हुन बाँकी छ ।

सभाबाट स्थापत्यशास्त्र अध्ययनको जनशक्ति र भौतिक पूर्वाधारका लागि १९ करोड माग गरिएको छ । पाठ्यक्रम स्वीकृत भएपछि अध्यापनका लागि तत्कालै पठनपाठनका लागि विश्वविद्यालयसँग भौतिक संरचना तयारी अवस्थामै रहेको विश्वविद्यालयले दावी गरेको छ ।

यसैबीच यसैसाता सम्पन्न विश्वविद्यालय सभामा विश्वविद्यालयका तर्फबाट पूँजीगत तर्फ १३ करोड ५० लाख र सञ्चालन तर्फ एक अर्ब ६ करोडको बजेट र कार्यक्रम पारित गरिएको छ । विश्वविद्यालयले २०७९ सालदेखि नै स्थापत्य शास्त्र अध्यापनका लागि स्थापत्यशास्त्र अध्ययन संस्थानमा डीन नियुक्त गरिसकेको छ । आधुनिक र प्राचीन विषय पढाउँदै आएको विश्वविद्यालयले पछिल्लो पटक संस्कृततर्फका प्राविधिक धारका विषयहरु समेत अध्यापन गराउन थालेको हो । संस्कृततर्फ आचार्य(स्नातकोत्तर)सम्मका कक्षा सञ्चालन गर्दै आएको विश्वविद्यालयले २०६८ सालदेखि आयुर्वेद स्नातक तह(बिएएमएस)कक्षा सञ्चालन गरिरहेको छ । त्यसैगरी विद्यावारिधिका कक्षा समेत सञ्चालन गरिरहेको छ ।

स्थापत्य अध्ययन संस्थान डीन वीरेन्द्र खड्काले नेपाल इन्जिनिरिङ काउन्सिलबाट पाठ्यक्रम स्वीकृत पाए लगत्तै परीक्षण कालकारुपमा आगामी शैक्षिक सत्रदेखि नै कक्षा सञ्चालन गरिने बताए । उनले संरचना, ल्याब, जनशक्ति काउन्सीलकै मापदण्डबमोजिम तयार गरिने समेत बताए । डीन खड्काकाअनुसार विज्ञान विषयमा कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरुले स्थापत्यशास्त्र अध्ययन गर्न पाउनेछन् भने एउटा कक्षामा ४८ जना विद्यार्थीको मात्रै कोटा रहनेछ । तत्कालका लागि स्नातक तहको कक्षा सञ्चालने गरे पनि भविष्यमा स्नातकोत्तर तहसम्मको कक्षा सञ्चालन गर्ने तयारी गरिएको छ ।

यसैबीच विश्वविद्यालयको सभाको ७४ बैठक काठमाडौमा सम्पन्न भएको छ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले संस्कृत विश्वविद्यालय सभामा संस्कृत नवीनतम शैली र प्रविधिको प्रयोग गर्दै अघि बढ्न निर्देशन दिएका थिए । सभामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौडेलले मौलिक स्वास्थ्य पद्धतिका रूपमा रहेका आयुर्वेद, योगविज्ञान र प्राकृतिक चिकित्सा लगायतका विषयवस्तुहरुलाई खोज, अनुसन्धान र संरक्षणका लागि विश्वविद्यालय क्रियाशील रहनुपर्ने बताएका थिए । विश्वविद्यालय सभामा उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेले संस्कृत विश्वविद्यालयले मौलिकताको रक्षाका साथसाथै यसको आधुनिकीकरणका लागि प्रयास गरिरहेको बताएका थिए ।

साक्षी खबरबाट

प्रकाशित मिति : २०७८ चैत्र २ गते बुधवार
प्रतिक्रिया दिनुहोस