काठमाडौं । रोजगारीको प्रलोभनमा परेर दलालमार्फत भिजिट भिसामा दुबई पुगेका ११८ नेपाली अलपत्र परेका छन् । पटक–पटक गरेर केही महिना अघि धेरै तलबसहित आकर्षक रोजगारी पाउने आशामा भिजिट भिसामा दुबई पुगेका नेपाली युवाहरु अलपत्र परेका हुन् ।
जसमध्ये ४ दर्जनभन्दा बढी युवा नेपाली सेनाको जागिर छाडेर आएका हुन् भने कोही सेनाकै अवकाश प्राप्त छन् । आफूलाई भिजिट भिसामा दुबई ल्याएर काम लगाउँछु भन्दै बिचल्ली बनाउने टिमका मुख्य नाइके कोमलराज उपाध्याय रहेको पीडितको भनाइ छ । उपाध्याय त्रिनेत्र कन्सल्टेन्सीका मालिक हुन् ।
उनको मुख्य संलग्नतामा अन्य दलालहरु खगेन्द्र लम्साल, राजन ठकुरी, भुपेन्द्र बोहोरा, आदित्य रसाइली, होम बहादुर खड्का, सिम्रन रसाईलीले दुबईको विभिन्न कम्पनीमा कामदार माग गरिएको भन्दै नक्कली मागपत्र बनाई युवाहरुलाई झुक्याएर दुबई लगेका थिए ।
दुबईस्थित अलफैदीमा रहेको त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीका मालिक उपाध्यायसहितको टिमले प्रतिव्यक्ति १ लाख ७० हजार देखि ८ लाख रुपैयाँसम्म असुल गर्ने गरी यी युवालाई भिजिट भिसामा दुबई लगेका हुन् ।
केही पीडित युवाले कुल लाग्ने रकमको आधा अर्थात् करिव ४ लाख रुपैयाँ नेपालमा तिरेको र बाँकी रकम अफर लेटर आएपछि तिर्ने सहमतिमा दुबई आएको बताए । दुबई आएको लामो समय भए पनि पीडित युवाहरु र दलालबीच सहमति भए अनुसारको काम नभएपछि मात्र उक्त समस्या बाहिर आएको हो । त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीका मालिक उपाध्यायले आर्म्स गार्डमा काम लगाइदिन्छु भन्दै यहाँ ल्याएपछि बन्धक बनाएर राखेको पीडित श्रीराम रानाभाटले बताए ।
यसरी आएकामध्ये धेरैजसोको भिसा अवधि समाप्त भएको उनले जानकारी दिए । ‘पासपोर्ट माग्दा धम्क्याउँछ, हामीसँगै दुबई आर्मी, सुरक्षा गार्ड (सेक्युरिटी) का लागि नेपालबाट आएका अन्य साथीहरु पनि छन् ।’ उनले भने ।
दुबईमा आर्म्स गार्डका लागि जागिर खुलेको भन्दै प्रतिव्यक्ति ३ हजार दिर्हाम अर्थात् करिब (१ लाख रुपैयाँ) तलबसहित खान र बस्न फ्रिसहित राम्रो सुविधा हुने आश्वासनमा उनीहरु भिजिट भिसामा दुबई पुगेका हुन् ।
यता नेपाली दूतावास आबुधावीले उक्त घटनालाई निकै गम्भीरतापूर्वक हेरिएको बताएको छ । दूतावासकी श्रम काउन्सिलर निर्मला थापाका अनुसार उक्त घटनाबारे श्रम मन्त्रालयका उच्च पदाधिकारीले दूतावासमा सम्पर्क गरेकाले पीडितहरुसँग पनि सम्पर्क भइरहेको छ ।
सोमबार दूतावास खुल्नासाथ यसबारे आवश्यक प्रक्रिया अघि बढाउने उनले जानकारी दिइन् । यसरी अवैध रुपमा दलालहरूले विमानस्थलका कर्मचारीमार्फत सेटिङमा दुबई ल्याएका हजारौँ नेपाली अहिले अलपत्र अवस्थामा छन् ।
पछिल्लो समय भिजिट भिसाको नाममा दलालहरूले नेपालीलाई दुबई ल्याएर अलपत्र पार्ने कार्य निकै बढ्न थालेको छ । पछिल्लो तथ्यांक अनुसार ६० हजार नेपाली भिजिट भिसामा दुबई आइपुगेका छन् । तर स्वेच्छाले भिजिट भिसामा दुबई जान चाहेका नेपालीहरुलाई भने त्यति सहज छैन ।


